१९औं एशियाली खेलकुदको आयोजनामा व्यस्त चीनका राष्ट्रपति सी जिनपिङले शनिबार आयोजनास्थल हाङ्झोउमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग साइडलाइन भेटवार्ता गरेका छन्।
चीन र नेपालबीच मैत्रीपूर्ण सम्बन्धको विकास र प्रवर्द्धनमा प्रचण्डले खेलेको भूमिकाको सीले तारिफ गरे। उनले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) लाई अघि बढाउनका लागि दुबै देशबीच सहकार्य जरुरी रहेकोमा जोड दिए।
चीनले नेपालसँग धेरै क्षेत्रमा गहिरो व्यावहारिक सहकार्य चाहेको उनले बताए। उनले दुई देशको सम्बन्धलाई थप अगाडि बढाउन सुशासनको अनुभव आदन–प्रदान जरुरी रहेको बताए।
प्रधानमन्त्रीको भ्रमणका अवसर पारेर चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले त्यहाँका विभिन्न विज्ञहरुसँग गरिएको कुराकानीसहितको विश्लेषणात्मक समाचार प्रकाशित गरेको छ।
कुराकानीका क्रममा विज्ञहरुले प्रचण्डको भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने बताएका छन्।
बीआरआईअन्तर्गत हाइड्रोपावर निर्माणलगायत विविध क्षेत्रमा मजबुत सहकार्य हुने विश्वास उनीहरुले व्यक्त गरेका छन्।
भारत र चीनसँग सीमा जोडिएको नेपालको कूटनीतिक अडान दुबै देशबीच सन्तुलित सम्बन्ध राख्ने हो। तर भारतले दक्षिण एशियालाई आफ्नो प्रभाव क्षेत्र मान्ने भएकाले नेपाललाई बराबरीको व्यवहार नगर्ने टिप्पणी केही विश्लेषकहरुले गरेका छन्।
‘नेपालमा अमेरिकाको संलग्नता अवसरवादी छ। उसले नेपालसँग लामो प्रतिबद्धता गर्नेभन्दा पनि चीन घेर्ने नीतिलाई प्राथमिकता दिएको छ।’
‘भारतको हस्तक्षेपलाई सन्तुलित बनाइराख्नका लागि नेपाल चीनसँगको सम्बन्धलाई बलियो बनाउन चाहन्छ। भारतले जसरी चीनले नेपाललाई भारत–चीनमध्ये कुनै एक पक्ष लिन भन्दैन,’ सिचुआन इन्टरनेशनल स्टडिज युनिभर्सिटीअन्तर्गत स्कुल अफ इन्टरनेसनल रिलेसन्सका प्राज्ञ लङ सिनचुनले भने, ‘नेपाल र चीनबीचका संभावित सहकार्यका क्षेत्र धेरै छन्। विशेषगरी बीआरआई र चीन–नेपाल रेलवेमार्फत सहकार्यका धेरै क्षेत्र खुल्नेछन्। नेपाललाई चीनले भारतले भन्दा बढी लगानी र उद्योगहरु हस्तान्तरण गर्ने प्रस्ताव गर्न सक्छ। यसले नेपालको आर्थिक वृद्धिमा सघाउँछ।’
नेपालका प्रधानमन्त्री तीन वर्षपछि चीन भ्रमणमा आएको भन्दै यसले सम्बन्धमा थप घनिष्ठतता सिर्जना गर्ने सिंहुवा विश्वविद्यालयअन्तर्गतको नेशनल स्ट्रयाटिजी इन्स्टिच्युटअन्तर्गत अनुसन्धान विभागका निर्देशक क्यिन फेंगले बताए।
‘नेपाली प्रधानमन्त्रीले कोभिड १९ महामारीपछि तीन वर्षपछि भ्रमण गरेका हुन्। यसले दुई पक्षीय सम्बन्धलाई बलियो बनाउन सहयोग गर्छ,’ उनले भने।
महामारीपछि आफ्नो अर्थतन्त्र उकास्ने प्रयासमा रहेको नेपालले चीनियाँ सहयोगमा ‘एक्सप्रेस ट्रेन’ चढ्ने इच्छाशक्ति यस भ्रमणमार्फत प्रदर्शन गरेको उनले बताए।
केही विज्ञहरुले नेपाल मामिलामा ‘भारत हस्तक्षेपकारी’ र ‘अमेरिका अवसरवादी’ भएको आरोप लगाएका छन्।
अमेरिकाले नेपालसँग पछिल्ला वर्षहरुमा आफ्नो सम्बन्ध बलियो बनाउन चाहेको छ। नेपालको विकासमा सघाउन भन्दै अमेरिकाले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यक्रम ल्याएको छ। यो कार्यक्रम अहिले कार्यान्वयन भइरहेको छ।
विज्ञहरुलाई उद्धृत गर्दै ग्लोबल टाइम्समा आरोप लगाइएको छ, ‘नेपालमा अमेरिकाको संलग्नता अवसरवादी छ। उसले नेपालसँग लामो प्रतिबद्धता गर्नेभन्दा पनि चीन घेर्ने नीतिलाई प्राथमिकता दिएको छ।’


