काठमाडौँ- वैशाख १० गते तनहुँ क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनमा कांग्रेस, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच त्रिपक्षीय भिडन्त हुने देखिएको छ। मंसिर ४ मा भएको निर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल फागुन २६ मा राष्ट्रपतिमा निर्वाचित भएर राजीनामा दिएसँगै उक्त क्षेत्रमा पुनः चुनाव हुन लागेको हो।
नेपाली कांग्रेसले तनहुँ १ मा गोविन्दराज भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। भट्टराई नेविसंघका पूर्वसभापति हुन्।
उपनिर्वाचनमा सत्ताधारी गठबन्धनका मुख्य दलबीच मिलेर जाने सहमति भएअनुसार उक्त स्थानमा नेकपा माओवादी, नेकपा एस र जसपाले उम्मेदवार नउठाउने लगभग निश्चित भएको छ।
नेकपा एमालेले सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने तयारी गरेको छ। एमाले सचिवालय बैठकले तनहुँ-१ मा खनाललाई उम्मेदवार बनाउने औपचारिक निर्णय गर्ने बताइएको छ। नेपाल प्रहरीका पूर्व आइजिपी खनाल तनहुँ भानु नगरपालिकाका स्थायी बासिन्दा हुन्।
सर्वेन्द्रका दाजु सुवीर खनाल नेपाली कांग्रेसको नेता हुन्। उनी गिरिजाप्रसाद कोइराला र सुशील कोइराला प्रधानमन्त्री भएको बेला प्रधानमन्त्रीको सचिवालयमा प्रमुख स्वकीय सचिव र पछि विज्ञको रूपमा समेत काम गरेका थिए। अर्का दाइ रवीन्द्र खनाल राजाको सक्रिय शासनका बेला सहायक मन्त्री भएका थिए।
मङ्सिर ४ को निर्वाचनमा काठमाडौँ-६ मा एमाले उम्मेदवार बनेका खनाल रास्वपाका शिशिर खनालसँग पराजित भएका थिए।
नेपाली कांग्रेसबाट अलग भएको घोषणा गरेका अर्थशास्त्री डा स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट उम्मेदवार बन्ने तयारीमा छन्। बिहीबार मात्र कांग्रेसबाट अलग भएको घोषणा गरेका वाग्लेलाई साधारण सदस्यका रूपमा नै तनहुँमा चुनाव लड्न जाने बताइएको छ।
काठमाडौँस्थित थिङ्क ट्याङ्क इन्स्टिच्युट फर इन्टिग्रेटेड डिभलपमेन्ट स्टडिज (आईआईडीएस)का अध्यक्ष वाग्ले राष्ट्रिय योजना आयोगको सदस्य र उपाध्यक्ष बनिसकेका छन्। वाग्लेसँग विश्व बैंक र संयुक्त राष्ट्रसंघमा २० वर्षभन्दा बढी काम गरेका अनुभव उनीसँग छ।
गत निर्वाचनमै कांग्रेसबाट उनले गोरखा वा चितवनबाट चुनाव लड्ने इच्छा गरेका थिए। तर, कांग्रेसले टिकट दिएको थिएन। वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा उनले तनहुँ -१ बाट चुनाव लड्ने इच्छा व्यक्त गरेका थिए। उनको सट्टामा तनहुँ-१ बाट गोविन्द भट्टराईलाई टिकट दिइएपछि वाग्ले असुन्तुष्ट बनेर रास्वपाको सदस्यता लिएका थिए।
सभापति शेरबहादुर देउवा र आरजु राणाले टिकट नदिएको वाग्लेको बुझाइ छ। कांग्रेस नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य गोविन्दराज पोखरललाई पत्र पठाउँदै ‘देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानका कारण आफूले पार्टीबाट अलग हुनुपरेको उल्लेख गरेका थिए।


