काठमाडौँ- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि दुर्व्यहार र आक्रमण गर्नेमाथि कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
गृह मन्त्रालयमा आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत, नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक सङ्घलगायत स्वास्थ्यकर्मीसँग सम्बन्धित सङ्घसंस्थाका प्रतिनिधिसँगको छलफलमा उनले यस्तो बताएका हुन्।
‘चिकित्सको चासो र चिन्ता पूरा गर्न सरकार प्रतिबद्ध छ, मुलुकमा विधिको शासन लागू हुन्छ, चिकित्सकमाथि दुर्व्यवहार र आक्रमण गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाइएको छ,’ मन्त्री श्रेष्ठले भने।
छलफलमा स्वास्थ्यमन्त्री बस्नेतले चिकित्सकमाथि आक्रमणको घटना बढ्दै जाँदा अराजक स्थिति सिर्जना हुने भएको बताए।
चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरणमा काम गर्ने अवस्था सिर्जना गर्न उपप्रधानमन्त्री श्रेष्ठको नेतृत्वमा सरोकारवालासँग छलफल गरिएको थियो।
नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा अनिल कार्कीले सरकारले चिकित्सको अभिभावकत्व ग्रहण गर्नुपर्नेमा जोड दिँदै ढुक्क भएर काम गर्ने वातावरण बनाइदिन माग गरे।
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइरालाले कुनै पनि वहानामा चिकित्सक तथा स्वास्थ्यकर्मी र स्वास्थ्यसंस्थामाथि आक्रमण गर्नेमाथि कडा कारबाही गर्न माग गरे।
पटकपटक चिकित्सकहरू पिटिएको भन्दै डाक्टरहरूले देशभर विरोधका कार्यक्रम गरिरहेका छन्।
मंगलबार सरकार र आन्दोलनरत चिकित्सकबीचको वार्ता विना निष्कर्ष समापन भएको छ।
मंगलबार दिउँसो आन्दोलनरत चिकित्सकका प्रतिनिधि र गृह मन्त्रीसमेतको टोलीबीच भएको वार्ताले निष्कर्ष निकाल्न नसकेको हो।
मंगलबारको वार्ता निष्कर्षविहीन बनेपछि बुधबार पुनः बैठक बसेर थप छलफल गर्ने निष्कर्षमा पुगिएको गृहका एक अधिकारीले जानकारी दिए।
सोमबार मात्रै पोखरास्थित मणिपाल अस्पतालमा चिकित्सकमाथि हातपात भएको थियो। बिरामीको मृत्यु भएको विषयलाई लिएर मणिपाल शिक्षण अस्पताल, पोखरामा तोडफोड समेत भएको थियो।
उपचारको क्रममा लमजुङकी ५७ वर्षीया सुकमाया दुराको मृत्यु भएपछि आक्रोशित आफन्तले डाक्टरहरूमाथि हातपात गरेका थिए।
लमजुङ जिल्ला अस्पतालमा कार्यरत डाक्टर सन्दीप अधिकारीलाई रक्सीले मातेका वडाध्यक्षले आइतबार राती कुटपिट गरेका छन्।
बेसीशहर नगरपालिका- ७ का वडाध्यक्ष ऋषिराम बस्नेतले डाक्टर अधिकारीलाई कुटपिट गरेका हुन्।
भदौ २८ गते मकवानपुरको हेटौँडास्थित सञ्चो अस्तपालमा ड्युटीमा खटिएका दुई जना डाक्टर कुटिएका थिए।
पछि स्थानीय स्तरमा नै मिलापत्र गरी सामसुम पार्ने प्रयास गरिएपनि नेपाल चिकित्सक संघको अगुवाईमा आन्दोलन सुरु भएपछि सरकारले कारबाही गर्ने प्रतिबद्धता गरेको थियो।
डाक्टरहरूमाथि बारम्बार भौतिक आक्रमणका घटना भइरहेका छन्। तर घटना न्यूनीकरण भइरहेका छैनन्।
बरु प्रहरीले पनि डाक्टरहरूलाई कुटपिट गर्ने गरेको छ।
पोखराको मणिपाल अस्पतालमा सोमबार बिरामीका आफन्तले डाक्टरलाई पिटेपछि प्रहरीले पनि डाक्टरलाई नै पिटेको पाइएको छ।
प्रहरीले बाहिरबाट गएका डाक्टर दिनेश कुमार विकलाई विनाकारण कुटपिट गरेको हो।

आन्दोलनकारीको भिडमा पुगेका एक प्रहरीले भनेका छन्, ‘साफ चुटेर आएको छु(अपशब्द) अनुहार फुटेर रगतै रगत बनाएको छु।’
मणिपालको भिडभाड नियन्त्रण गर्न वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी खटिएको थियो।
२०७९ असार १२ गते राति ड्युटी सकेर घर फर्किंदै गरेका एक डाक्टरमाथि प्रहरीले मरणासन्न हुने गरी कुटपिट गरेको थियो।
ललितपुरको पुल्चोकस्थित आरोग्य स्वास्थ्य प्रतिष्ठानमा कार्यरत डाक्टर कुलबहादुर घिसिङमाथि एकान्तकुनास्थित यातायात कार्यालयअगाडि कुटपिट भएको थियो।
प्रतिष्ठानबाट ड्युटी सकेर घर फर्किंदै गर्दा आइतबार साँझ साढे ८ बजे कुटपिट भएको थियो।
ट्राफिक प्रहरीको कुटपिटबाट घिसिङको अनुहारभरि निलडाम भएको थियो।
२०७९ साल माघ २७ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको समयमा हिँडेको भन्दै प्रहरीले डाक्टरलाई कुटेको थियो।
त्यसको विरोधमा वीर अस्पताल र ट्रमा सेन्टरका स्वास्थ्यकर्मीले सेवा बन्द गरेर आन्दोलन गरेका थिए।
राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसदलाई सम्बोधन गर्न गएकी थिइन्। राष्ट्रपति फर्कँदा प्रहरीले सडक खाली लगाएको थियो।
त्यहीबेला डा. जनिथ सिंह वीरबाट ट्रमामा जान खोजेका थिए। प्रहरीले निर्घात पिट्दा उनको टाउकोमा चोट लागेको थियो।
२०७७ वैशाख ३ गते लकडाउन उल्लङ्घन गरेको भन्दै प्रहरीले त्रिवि शिक्षण अस्पतालका डाक्टरमाथि निर्घात कुटपिट गरेको थियो।
त्रिभुवन शिक्षण अस्पतालका रेजिडेन्ट डाक्टरहरू शम्भु खनाल, तेजप्रकाश शाह र विकास शाहमाथि प्रहरीले कुटपिट गरेको थियो।
क्यान्टिनमा खाना खाएर कोठामा फर्कने क्रममा उनीहरुलाई प्रहरीले कुटपिट गरेको हो।
सरकारले पटकपटक डाक्टरहरूलाई पिट्ने तर कारबाहीमा उदासीन बनेपछि चिकित्सकहरु हताश मानसिकतामा पुग्ने गरेका छन्।
माओवादीको सरकार हुँदा पनि माओवादीकै डाक्टर कुटिएको भन्दै माओवादी निकट डा दीपकप्रसाद कोइरालाले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन्।
उनले पार्टीका सबै निकायबाट राजीनामा दिँदै साधारण सदस्यसमेत नरहेको जानकारी गराएका छन्।
‘आपनै पार्टीको प्रधानमन्त्री र गृहमन्ती हुँदा उपचार गर्ने चिकित्सकले पिटाइ खानु दिनचर्या भएको, प्रहरीले उल्टो गुण्डा गढ़ी गर्ने लाई जोगाएर डाक्टरमाथि लाठीचार्ज गर्नु र कानूनी राज्यको उपहास हुनु मलाइ सह्य भएन,’ उनको राजीनामा पत्रमा उल्लेख छ।
तर गृहमन्त्री र प्रधानमन्त्रीले भनेअनुसार चिकित्सक र स्वास्थ्यकर्मीलाई सुरक्षा पनि दिन भने सरकार चुकिरहेको छ।
