काठमाडौँ- नाबालिग बलात्कारको आरोप लाग्नुअघि क्रिकेटर सन्दीप लामिछाने जति चर्चामा थिए, बलात्कार अभियोगमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि अझ बढी चर्चामा छन्। यसरी बलात्कार लागेपछि पनि वाहवाही पाएर चर्चामा रहिरहने खेलाडी नेपाली खेलजगतले सायदै पाएको होला। खेलकौशलका कारण त सन्दीप दुनियाँबीच चिनिएकै हुन्। २०७९ कात्तिक १४ गते बलात्कारको मुद्दा परेपछि पनि उनको ‘क्रेज’ कम भएको छैन।
२०७९ भदौ २१ गतेसम्म ‘सुनाम’ लामिछाने त्यसयता केहीका नजरमा ‘बदनाम’ पनि छन्। पीडित नाबालिग किशोरीले गौशाला प्रहरी वृत्तमा बलात्कारको आरोप लगाउँदै उजुरी दिएका बेला क्यारेबियन लिग उत्तर अमेरिकी देश सेन्ट लुसिया पुगेका थिए। पीडितको जाहेरीअनुसार २०७९ भदौ ५ गते बलात्कार भएको थियो। भदौ ६ गते नै सन्दीप केन्याका लागि प्रस्थान गरेका थिए।
आफूमाथि बलात्कारको उजुरी दर्ता भएपछि केही समय विदेशमा नै लुकेर बसेका सन्दीप २०७९ असोज २० गते नेपाल फर्किएका थिए। पीडितको उजुरीका आधारमा उनी सोही दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए। प्रहरीले अनुसन्धान सकेर कात्तिक १४ गते बलात्कार मुद्दा दर्ता गरेको थियो। यो मुद्दाको अन्तिम किनारा नलागेसम्म सन्दीप कानुनी दृष्टिमा अभियुक्त हुन्।
समर्थकहरू भने सन्दीपलाई अभियुक्त मान्न तयार छैनन्। उनीहरुका लागि सन्दीप ‘हिरो’ हुन्। नाबालिग किशोरीमाथि बलात्कारका अभियुक्त सन्दीपलाई गम्भीर प्रकृतिको मुद्दा विचाराधीन रहँदा पनि एउटा ठूलो तप्का हिरो मानिरहेकै छ।
सन्दीपलाई समर्थकले मात्र हिरो मानिरहेको छैन, अदालतले पनि कुस्त सुविधा दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) त सन्दीपको विपक्षमा रहने कुरै रहेन। रोचक त के छ भने अदालतमा सन्दीपको मुद्दामा अन्तिम बहस सुरु हुने भनेर पेसी चढेको ८ महिना पुग्न लागेको छ। यो अवधिमा एक दर्जन न्यायाधीशको इजलास घुमेको सन्दीपविरुद्धको मुद्दाको फैसला नगर्नकै लागि न्यायाधीशहरू बिदामा बसिदिनसम्म पछि परेनन्।
यो मुद्दा अन्तिम किनारा लाग्न नसक्नुको कारण के हो? नियत के हो? सन्दीपलाई अतिरिक्त सुविधा किन? प्रश्न उठेका छन्। यही प्रकृतिको आरोप कुनै सामान्य मान्छेमाथि लागेको भए के हुन्थ्यो? न्यायमूर्तिहरु यही मुद्दाको सुनुवाई गर्न दिन बिदामा बसिरहन्थे? हेर्न नभ्याइनेमा परिरहन्थ्यो? वा पेसी चढेको ८ महिनासम्म सुनुवाई नै हुँदैन थियो? यीलगायतका थुप्रै प्रश्न अदालत र न्यायाधीशहरूतर्फ सोझिइरहेका छन्।

सायद सन्दीपको जस्तो आरोप सामान्य मान्छेमाथि लागेको भए सायद अभियुक्त जेलमा सजाय काटिरहेको हुन्थ्यो। समाजको सबैभन्दा घृणित पात्रमा गनिन्थ्यो। बलात्कारको मुद्दा फैसला नहुँदै राष्ट्रका कार्यकारी र राष्ट्रपतिसम्मले सम्मान दिने त पक्कै थिएनन् होला। जेल पुगिसकेको व्यक्ति देशविदेशको यात्रा त हुने कुरै भएन। खैर! जे होस् सन्दीपमाथिको आरोपबारे निर्क्यौल गर्ने अधिकार अदालतकै हो। तर, पीडित डिप्रेसनको सिकार भइसक्दा पनि मुद्दालाई अझै तन्काइरहने अदालत र न्यायमूर्तिबारे टिप्पणी मानहानी हुन जान्छ। अदालतको आलोचना नगरी मान राख्नैपर्ने छ।
000
सन्दीपको मुद्दाको पेशी पछिल्लो पटक आइतबार तोकिएको थियो। तर, त्यो दिन न्यायाधीश अभाव भएपछि मुद्दा पेसीमा चढेन। अघिल्लो साता पनि न्यायाधीश बिदामा बसेपछि सुनुवाइ स्थगित भएको थियो। यो मुद्दामा पेशी तोकिने तर सुनुवाई स्थगित हुने शिलशिला जारी छ। मानौं कि, सन्दीपको मुद्दा छिन्दा न्यायमूर्तिको सर्वस्व धरापमा पर्छ।
आइतबार पेसी तोकिएपछि सन्दीप एसियाली खेलकुद (एसियाड)का लागि चीन गएनन्। आइतबारका लागि तोकिएको सुनुवाई स्थगित भएपछि सोमबारका लागि उनको टिकट काटियो। तर आइतबार साँझ क्यानका अध्यक्ष चतुरबहादुर चन्दसँग उनले मानसिक रुपमा खेल्न तयार नभएको बताएका थिए। सोही कारण सोमबारको टिकट रद्द गरिएको थियो। तर, सोमबार अध्यक्ष चन्दसँगै सचिव पारस खड्कासँगको छलफलपछि भने सन्दीप चीन जान तयार भए। सन्दीपलाई चीन पठाउन पूर्व कप्तानसमेत रहेका पारसले सहमत गराएको बताइएको छ।
सोमबार साँझको छलफलपछि सन्दीप मंगलबार बिहान चीनतर्फ लागे। बुधबार मंगोलियाविरुद्ध भएको खेलमा उनले दुई विकेट लिए। मंगोलिया विरुद्धको खेलमा नेपालले थुप्रै रेकर्ड बनायो/तोड्यो। नेपालको यो सफलताले हरेक नेपालीलाई खुसी नबनाउने कुरै थिएन। तर न्यायको पक्षमा उभिनेहरु यो ऐतिहासिक जितमा पनि उतिसारो खुसी छैनन्। यो जितको हिस्सामा नाबालिग बलात्कारका अभियुक्त सम्मेलित नभएको भए सायद खुसीको आयतन अझ चौडा हुने थियो।
000
मुद्दा विचाराधीन रहेकै अवस्थामा सन्दीपले यसअघि पनि देशभित्र र बाहिर खेलिसकेका छन्। त्यसकारण चीन जाने र खेल्ने कुरा पनि नौलो रहेन। तर, पनि प्रश्न उठछ- सन्दीप विना नेपाली क्रिकेट टिम मैदान उत्रनै नसक्ने अवस्थामा छ? छैन भने अभियुक्तलाई मैदान उतार्न यत्रो विधि जोडबल किन? सन्दीपलाई ‘राष्ट्रिय हिरो’, ‘आइडल’ मान्नेहरुले त उनलाई निर्दोष मानिरहेकै छन्। गौशाला (२६)ले न्याय पाउनुपर्छ भन्ने मत राख्नेहरुलाई प्रश्न गरेकै छन्, गाली गरिरहेकै छन्।
अभियुक्तलाई ‘भगवान’ मान्नेहरूले लुइस रुबिआलेसको ताजा कथा पढुन्। रुबिआलेस स्पेनिस फुटबल फेडरेसनका अध्यक्ष थिए। हालै सम्पन्न महिला विश्वकपमा स्पेनले उपाधि जित्यो। बेलायतलाई हराएर उपाधि जितेको उन्मादमा रुबिआलेसले फर्वाड जुनी हर्मोसोको ओठमा चुम्बन गरिदिए। त्यो चुम्बन उनका लागि महँगो सावित भयो। फिफाले उनी माथि प्रतिबन्ध लगायो। अन्ततः उनले अध्यक्ष पदबाट हात धुन पर्यो।
सायद सन्दीपका जस्ता समर्थक रुबिआलेसका पनि थिए भने भन्थे होलान्- उनले मैदानमा सबैका अघि चुम्बन गरेका हुन्, कुन ठूलो कुरा हो र? जितेपछि खुसी पनि मनाउन नपाउनु? रुबिआलेसकै कार्यकालमा महिला विश्वकपमा पहिलो उपाधि हात लाग्यो, त्यसकारण उनलाई माफी दिनुपर्छ/अध्यक्ष बन्न दिइरहनुपर्छ।
तर, रुबिआलेसको केसमा त्यस्तो भएन। खेलाडी, समर्थक, युरोपियन फुटबल फेडरेसन सबै उनका विपक्षमा उभिए। किनकी रुबिआलेसका समर्थक सन्दीपकाझैं ‘क्वालिटी’का थिएनन्, उनका साथमा न चुतर थिए न त पारस नै।
त्यसो त ठूलो फ्यान फलोइङ भएका बेन्जामिन मेन्डी, मेसन ग्रिनउड, एन्थोनीको कथा पनि छन्। बलात्कार र दुर्व्यवहारको आरोपका कारण उनीहरुको खेल जीवन कसरी प्रभावित बन्यो? उनीहरु आवद्ध क्लबले कस्तो कदम चाल्यो र अहिले अवस्था के छ? यसबारे खोजुन्, पढुन्।

म्यानचेस्टर सिटीमा मेन्डीले उत्कृष्ट फुटबल खेलिरहेका थिए। सन् २०२० मा उनीमाथि बलात्कारको आरोप लाग्यो। उनी सोही वर्षको नोभेम्बरमा पक्राउ परेका थिए। बलात्कारको आरोप लागेपछि सन् २०२१ मा क्लबले उनलाई निलम्बन गर्यो।
सन्दीपको समान अवस्था त्यहाँ पनि हुन्थ्यो भने म्यानचेस्टर सिटीको लेफ्ट ब्याक पोजिसनमा उनी सुरुवाती ११ मा परिरहन पर्ने थियो। राम्रो प्रदर्शन गर्दा भरिभराउ स्टेडियममा उनको नाममा दर्शकले नारा लगाउन पर्ने थियो। मुद्दाको पेसी सरेको सर्यै हुन पर्ने थियो। उनको मुद्दा सुनुवाईका दिन न्यायाधीश बिदामा बस्न पर्ने थियो। मानसिक रुपमा खेल्न तयार नभए अध्यक्ष खालादुन अल मुबारक र प्रशिक्षक पेप गर्डिवलाले होटलमा भेटेर डिनर वार्ता गरेर खेल्न सहमत गराउन पर्ने थियो होला। अनि सन्दीपलाई झैं उनका समर्थकले पनि निर्दोष प्रमाणित गराउन दशी प्रमाण जुटाइदिन्थे होलान्।
सन्दीपका कसीमा मेन्डी त्यति भाग्यमानी ठहरिएनन्। उनी म्यानचेस्टर सिटीको निलम्बनमा परे अनि उनको फुटबल करियरमा धक्का लाग्यो। मेन्डीमाथि पनि बलात्कारकै आरोप थियो। तर नागबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा मेन्डी थिएनन्।
६ जना महिलाले उनीमाथि बलात्कार गरेको आरोप लगाएका थिए। सन् २०१८ को अक्टोबार देखि २०२१ को अगस्टको बीचमा लकडाउनका बेला आयोजित पार्टीमा मेन्डीले बलात्कार गरेको आरोप लागेको थियो।

तर, उनले गत जुलाईमा अदालतबाट सफाइ पाए। बेलायतको चेस्टर क्राउन कोर्टले तीन साता लामो सुनुवाइपछि उनलाई निर्दोष भएको फैसला सुनाएको थियो। बलात्कारको आरोप लागेपछि मेन्डी मैदानमा उतारिएनन्। अदालतबाट सफाइ पाएपछि बल्ल मात्र उनी फ्रान्सको लिग वान क्लब लोरिएन्टबाट फुटबल खेल्न थालेका छन्।
000
इंग्लिस युवा फुटबलर मेसन ग्रिनउडमाथि सन् २०२२ को अक्टोबरमा बलात्कारको प्रयास र कुटपिटको आरोप लागेको थियो। यो आरोप लाग्ने बित्तिकै पक्राउ परेका ग्रिनउडलाई म्यानचेस्टर युनाइटेडले निलम्बित गरेको थियो। नाइकीले उनीसँगको प्रायोजन अन्त्य गरेको थियो भने एलेक्ट्रोनिक आर्टस्ले फिफा २२ खेलबाट उनलाई हटाएको थियो।
युनाइटेडले उनलाई १८ महिनासम्म प्रशिक्षण गर्न र खेल्न प्रतिबन्ध लगाएको थियो। तर, सन् २०२३ को फेब्रुअरीमा ग्रिनउडमाथि लागेको आरोप खारेज भइसकेको छ। अनुसन्धानले ग्रिनउड माथि लागेको आरोप मिथ्या रहेको देखाएको थियो। ग्रिनउडमाथिको आरोप झुटो सावित भएपनि युनाइटेडले उनलाई मैदानमा उतारेन। हालै बन्द भएको समर ट्रान्सफर विन्डोमा युनाइटेडले ग्रिनउडलाई लोनमा स्पेनिस क्लब गेटाफे पठाएको छ।
हालै म्यानचेस्टर युनाइटेडका ब्राजिलियन विंगर एन्थोनीमाथि महिला हिंसा गरेको आरोप लागेको छ। उनीमाथि आरोप लाग्ने बित्तिकै क्बले उनलाई प्रशिक्षण र खेल्न रोक लगाएको छ। विश्वकप छनौट अन्तर्गत सेप्टेम्बर ९ र १३ तारिकमा बोलिभिया र पेरुविरुद्ध खेल्ने ब्राजिलको टिममा उनलाई समावेश गरिएको थियो। तर उनी माथि आरोप लागेपछि प्रशिक्षक फर्नान्डो डिनिजले उनलाई टोलीबाट हटाइदिएका थिए। अहिले उनीमाथि लागेको आरोपको अनुसन्धान जारी छ।

फुबटलर मात्रै होइन, बलात्कार आरोप लागेका क्रिकेटरलाई टिमले निलम्बन गरेको छ। बिहीबार मात्र सफाइ पाएका श्रीलंकाली ब्याटर दनुस्का गुनाथिलका पनि बलात्कारको आरोप लागेपछि निलम्बनमा परेका थिए।
सिड्नी अदालतले पीडित भनिएकी महिलाको दाबी नपुग्ने भन्दै सफाइ दिएको हो। सफाइ पाएपछि उनले खेलजीवन अघि बढाउने चाहना गरेका छन्।
बिहीबार अष्ट्रेलियाको सिड्नीस्थित डाउनिङ सेन्ट्रल डिस्ट्रिक कोर्टले ३२ वर्षीय गुनाथिलकालाई सफाइ दिएको हो। टिन्डर डेटमार्फत चिनजान भएका दनुस्काले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन्। आरोप लागेपछि मुद्दाको अन्तिम किनारा नलाग्दासम्म निलम्बनमा रहे।
सन् २००५ मा पाकिस्तानका स्टार खेलाडी शोएब अख्तरमाथि पनि बलात्कारको आरोप लागेको थियो। पाकिस्तानी टोलीको अस्ट्रेलिया भ्रमणको दौरान घटना भएको भन्दै शोएबमाथि एक किशोरीले आरोप लगाएकी थिइन्। एक किशोरीसँग भएको असमझदारीका कारण अख्तरमाथि आरोप लागेको बताइयो। पछि छानबिन गर्दा किशोरीको आरोप झुटो भएको बताइयो।
दक्षिण अफ्रिका फास्ट बलर मखाया एनटिनीमाथि पनि बलात्कार आरोप लागेको थियो। सन् १९९९ मा २१ वर्षीय एनटिनीलाई ६ वर्ष कैद सजाय हुने फैसला भएको थियो।

२१ वर्षीया विद्यार्थीलाई गाडीमा लिफ्ट दिएर शौचालयमा लगेर बलात्कार गरेको आरोप थियो। सुरुमा १० वर्ष कैद हुने फैसला सुनाएको अदालतले शारीरिक क्षति नपुर्याएको भन्दै कैद सजायलाई ६ वर्षमा सीमित गरिदिएको थियो।
सन् २००९ मा वेस्ट इन्डिजका क्रिकेटर रायन हिन्ड्सलाई २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोप लागेको थियो। उनीविरुद्ध मुद्दा परेको थियो। बार्बाडोसको एक अदालतले उनलाई धरौटीमा छाड्यो। लामो समय चलेको मुद्दामा पीडितले कुनै प्रमाण दिन नसकेपछि सन् २०१४ मा हिन्ड्सले सफाइ पाए।
इयान किङ अस्ट्रेलियाली प्रथम श्रेणीका क्रिकेटर हुन्। क्विन्सल्यान्ड प्रान्तका क्रिकेटर इयान किङ बाल यौन दुराचारको घटनामा दोषी ठहर भए। सन् २०१३ मा अदालतले २० जना बालकमाथि यौन दुराचार गरेको घटनामा उनलाई दोषी ठहर गरेको थियो। उनलाई १२ वर्षको जेल सजाय सुनाइयो।
सन् २००८ मा पीडितबाट उजुरी आएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। सन् १९९८ मा क्यानबेरामा जुनियर क्रिकेटरलाई प्रशिक्षण दिने क्रममा उनले दुराचार गरेको पाइएको थियो।
त्यसो त भारतीय क्रिकेटर उदय जोशीमाथि सन् २०१२ मार्चमा १३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो। आरोप लाग्दा जोशी ६८ वर्षका थिए। ३० वर्षअघिको घटनालाई लिएर पीडितले अदालतमा मुद्दा हालेका थिए। दोषी ठहर भएपछि जोशीलाई ६ वर्षको जेल सजाय सुनाइएको थियो।
000
आरोप लाग्नु, मुद्दा पर्नु र प्रमाणित हुनु फरक चिज हुन्। सन्दीपको मुद्दा अदालतमा विचाराधीन छ। उनले सफाइ पाउन पनि सक्छन्, या त दोषी प्रमाणित पनि हुन सक्छन्। यसको निर्क्योल अदालतले नै गर्नेछ। भलै अदालतले सुनुवाइमा आलटाल गरेर आफ्नो अक्षमता देखाइरहेको छ। न्यायामूर्तीहरुले मुद्दा पन्साएर न्याय सम्पादनमा आफ्नो कमजोर क्षमताको प्रदर्शन गरिरहेका छन्। ढिलोचाँडो कोही काविल न्यायाधीशको बेन्चमा यो मुद्दा पर्ला अनि अन्तिम सुनुवाई होला नै।
अदालतले सन्दीपलाई सहज हुने गरी गरिरहेको काम भने छिपेको छैन। सन्दीपलाई सहज हुने गरी तारिख तोक्ने काम अदालतले गरिरहेको छ। सन्दीपलाई विदेश जान सहज हुने गरी तारिख र पेसी तोक्ने गरिएको छ। यसको अर्थ सन्दीपले अदालतबाट अतिरिक्त सुविधा पाएका छन्। कानुनका नजरमा कोही स्टार हुँदैन, न त कोही सामान्य नै। तर, सन्दीपका हकमा भने यो नियम लागू हुँदैन। समर्थकका नजरमा उनी हिरो हुन्, त्यसकारण उनले खेल्न पाउनुपर्छ। अदालतले पनि एकपछि अर्को गर्दै त्यसलाई बल दिइरहेकै छ।
एकै प्रकृतिको मुद्दामा कोही जेल बस्नु पर्ने र कोहीले कुस्त छुटका साथ वाहवाही पाउनुपर्ने नियम अदालतले नै बनाइदिएको छ। ‘ढिलो न्याय दिनु भनेको न्याय नदिनुसरह हो’ भन्ने कानुनी सिद्धान्तविपरीतको काम अदातले नै गरिरहेको छ।
अभियुक्त सन्दीप देशविदेश घुमिरहेका छन्, खेलिरहेका छन्। उनको नाममा समर्थकले हुटिङ लगाइरहेका छन्। तर, पीडितले आत्महत्याको प्रयास गर्ने मानसिक स्थितिबाट गुज्रनुपरिरहेको छ। चतुर र पारस सन्दीपलाई खेल्न सहमत गराउन डिनर मिटिङ गरिरहेछन्, पीडितलाई ढाडस दिने नैतिक बल त उनीहरूसँग छैन नै, पीडितको घाउमा मल्हमको सट्टा नुनचुक छर्किरहेका छन्। त्यसैले भनिएको होला- नेपालको कानुन, दैवले जानुन्!



