काठमाडौँ– इन्डियन प्रिमियर लिग(आईपीएल) मा लखनउ सुपर जायन्टले दिल्ली क्यापिटललाई शनिबार राति ५० रनले हराएको छ। लखनउमा भएको खेलमा उसले दिल्लीलाई सहजै हराउन सफल भएको हो।
पहिले ब्याटिङ गरेर लखनउले ६ विकेटको क्षतिमा १९३ रन बनाएको थियो। जवाफमा पूरा २० ओभर खेल्दै ९ विकेट गुमाएर दिल्लीले १४३ रन मात्र बनाउन सकेपछि उसले पहिलो हार व्यहोरेको हो।
लखनउका लागि ‘प्लेयर अफ दि म्याच’ बनेका मार्क वुडले चार ओभर बलिङ गर्दै पाँच विकेट लिएका थिए। त्यस्तै अभेष खान र रवि बिस्नोईले पनि समान दुई,दुई विकेट लिए। त्यसक्रममा दिल्लीका डेविड वार्नरले ५६ रन बनाएका थिए।
पहिलो पारीमा लखनउका केली मायर्सले ३८ बलमा ७३ रन जोडेका थिए। त्यस्तै निकोलस पुरनले पनि २१ बलमा ३६ रन बनाए।
शनिबार नै भएको अर्को खेलमा भने पञ्जाब किंग्सले कोलकत्ता नाइट राइडर्सलाई ७ रनले हराएको छ। पहिलो पारीमा पाँच विकेट गुमाएर पञ्जाबले १९१ रन बनाएको थियो। तर १९२ रनको लक्ष्य पछ्याउने क्रममा कोलकत्ताले १४६ रन मात्र बनाएपछि पञ्जाबले जित निकालेको हो।
खेलमा अर्षदीप सिंहले तीन ओभरमा तीन विकेट लिएका थिए।


