काठमाडौँ- यो सिजनमा प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेपछि इंग्लिस प्रिमियर लिगमा चेल्सीको प्रदर्शन राम्रो छैन। लगातार हार बेहोरिरहेको चेल्सीले लामो समयको रेस्टपछिको खेलमा शनिबार राति पनि हार व्यहोर्यो।
चेल्सीले प्रिमियर लिगको नवौं स्थानमा रहेको एस्टन भिल्लासँग हार खेपेपछि प्रशिक्षक ग्राहम पोटरले हारको जिम्मेवारी लिने बताएका छन्। यद्यपि अहिले चेल्सीका लागि हार नयाँ कथा भने होइन। उसले खेलमा धेरै अवसर पाए पनि गोल गर्न सकिरहेको छैन।
शनिबार राति भिल्लाविरुद्ध चेल्सीले २७ पटक प्रहार गरेको थियो। त्यसमध्ये आठ प्रहार लक्ष्यमा थिए। त्यस्तै चेल्सीले ६९ प्रतिशत समय बलमा नियन्त्रण बनाएको थियो। तर उसले अन्तिममा दुई गोल बेहोर्दै २-० को हारेको सामना गर्यो। ‘स्टामफर्ड ब्रिजमा हामीले दबाबमा राखे पनि अन्तिममा हार बेहोरेपछि लिगको अंक तालिकाको फेदको आधातर्फ पुगेका छौं,’ पोटरले खेलपछि भने।
चेल्सीमा अहिले गोलको खडेरी लागिरहेको छ। उसले अहिलेसम्म २९ गोल मात्र गर्न सकेको छ। चेल्सीले भन्दा धेरै त रेलिगेसनबाट बच्न संघर्ष गरिरहेका लिड्स र लेस्टर सिटीले नै गरिसकेका छन्। उनीहरुले क्रमशः ३६ र ३९ गोल गरिसकेका छन्। तर चेल्सीले यो सिजनमा चार पटक घरेलु मैदानमा गोल गर्न सकेको छैन।
‘हारपछि जहिल्यै पनि असन्तुष्टि रहने गर्दछ’, खेलपछि पोटरले भनेका छन्, ‘हामी हारबाट अघि बढ्न नसकेको हो कि जस्तो लागेको छ। यो भन्न जरुरी पनि छ कि हामीले राम्रो प्रदर्शन गरिरहेका छौं तर पनि अझै के राम्रो गर्न सक्छौं भनेर हेनु पर्ने हुन्छ।’
उनले अरुलाई दोष नदिने र हारको जिम्मेवारी आफैं लिने पनि बताएका छन्। प्रिमियर लिगको बाँकी १० खेलमा चेल्सीले अब म्यानचेस्टर सिटी, युनाइटेड, आर्सनल र न्युक्यासलसँग खेल्नै बाँकी छ। त्यस्तै, उसले च्याम्पियन्स लिगमा पनि रियल मड्रिडको सामना गर्दैछ।


