काठमाडौँ- कार्यस्थलमा सुरक्षाको माग गर्दै विरोधमा उत्रिएका चिकित्सकहरुको आन्दोलन स्थगित भएको छ।
उपप्रधानमन्त्री तथा गृहमन्त्रीको उपस्थितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिबीच भएको सहमतिसँगै स्वास्थ्यकर्मीहरु आन्दोलन स्थगित गर्न राजी भएका हुन्।
सहमतिमा चिकित्सक तथा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा आक्रमण तथा कुटपिट गर्ने व्यक्तिलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) बमोजिम कारवाही चलाउने उल्लेख छ।
स्वास्थ्यकर्मीको मनोबल बढाउन कुटपिट गर्ने व्यक्तिलाई तीन वर्ष भन्दा बढी सजाय हुनुपर्ने मागका सम्बोधनका लागि आवश्यक कानुनी व्यवस्था गर्ने उल्लेख छ।
यस्तै सुविधामा न्यूनतम सरकारी सरह एकरुपता कायम गर्ने लगायत तत्काल सुधार गर्नुपर्ने विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन गर्ने उल्लेख छ।
समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव संयोजक हुने र सदस्यमा अर्थ मन्त्रालय, गृह मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि रहनेछन्।
यस्तै, चिकित्सा शिक्षा आयोग, नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक संघ र स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका प्रतिनिधि रहेको समिति १५ दिनभित्र गठन गरिनेछ।



