काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरूलाई बालुवाटार बोलाएका छन्।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय जाँचबुझ आयोग गठनबारे छलफल गर्न दाहालले अध्यक्ष ओलीसहितका नेतालाई बोलाएका हुन्।
दाहालसँग छलफल गर्न ओली र उपाध्यक्ष विष्णु पौडेल बालुवाटार पुगेको संसदीय दलका सचेतक महेश बर्तौलाले बताए।
दाहाल शनिबार मात्रै चीन भ्रमणबाट फर्किएका थिए। जाँचबुझ आयोग गर्न सरकारले ढिलाइ गरेको भन्दै दाहालसँग प्रतिपक्षी दलका नेताले गुनासो गरिरहेका थिए।
गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भइसकेको ६० किलो सुन बरामद भएको थियो। उक्त प्रकरणमा एमालेले उच्चस्तरीय आयोग गठन गर्न माग गरिरहेको थियो।
असोज पहिलो साता नै आयोग गठन गर्ने सहमति भएपछि एमालेले प्रतिनिधिभामा गरिरहेको अवरोध हटाएको थियो।
क्षेत्राधिकारलगायतका विषयको टुंगो नलाग्दा आयोग गठन हुन सकिरहेको छैन।


