पोखरा– नेपाल कम्युनिस्ट पार्टी (एमाले) गण्डकी प्रदेशको प्रथम अधिवेशन सोमबारदेखि पोखरामा सुरु हुँदैछ।
२०७२ जारी भएको नयाँ संविधानसँगै देश संघीयतामा गएपछि एमालेले पहिलो पटक गर्न लागेको गण्डकीको अधिवेशनलाई अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन्।
एमाले गण्डकीले आइतबार पत्रकार सम्मेलन गरेर उद्घाटनअघि एमालेले पोखराका विभिन्न चार स्थानबाट र्याली निकाल्ने जानकारी दिएको छ।
एमाले गण्डकीले हस्पिटल चोक, औद्योगिक क्षेत्रस्थित शिवचोक, बुद्धचोक र पृथ्वीचोकस्थित पोखरा बसपार्कबाट र्याली निकाल्नेछ। एमालेका अनुसार र्याली अमरसिंचौर पुगेपछि उद्घाटन सभामा परिणत हुनेछ।
उद्घाटन सभालाई एमालेले शक्ति प्रदर्शनका रुपमा हेरेको छ। कास्कीका सबै पालिकाका वडाहरुमा निःशुल्क बसको व्यवस्था गरेको छ।
कास्की बाहेकका नजिकका जिल्लाका पालिकाबाट पनि बस व्यवस्था गरेर मान्छे उतार्ने तयारी एमालेको छ।
अधिवेशनमा ९०७ जना प्रतिनिधि रहने एमाले गण्डकीका उपसचिव एवम् प्रचारप्रसार उपसमिति संयोजक रश्मि आचार्यले जानकारी दिए।
आचार्यका अनुसार कास्कीबाट १४६, स्याङ्जाबाट ११३, गोरखाबाट ५३, बागलुङबाट ७२ जना प्रतिनिधि छन्।
यस्तै पर्वतबाट ११०, नवलपुरबाट १०९, तनहुँबाट ८२, मुस्ताङबाट १६ जना प्रतिनिधि चयन भएका छन्। लमजुङबाट ६५, मनाङबाट १४, म्याग्दीबाट ४२ र जनसंगठनबाट ८६ जना प्रतिनिधिले अधिवेशनमा मतदान गर्न पाउनेछन्।
प्यानल बनाउन निषेध
एमाले गण्डकीको अधिवेशनमा प्यानल बनाउन बन्देज लगाइएको छ।
प्यानल बन्ने सम्भावित अवस्थालाई दृष्टिगत गरी नेतृत्वले प्यानल बनाउन बन्देज लगाएको हो।
गण्डकीमा पूर्वमूख्यमन्त्रीद्वय पृथ्वी सुब्बा गुरुङ (पीएस) र खगराज अधिकारी (केआर)को दुई समूह छ।
यी दुई समूहबाट प्यानल बन्ने सम्भावित परिदृश्य देखेरै नेतृत्वले प्यानल बनाउन बन्देज लगाएको एमालेकै नेताहरू बताउँछन्।
एमाले सचिव तथा गण्डकी प्रदेश ईन्चार्ज गोकर्ण विष्टले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गरिने बताए।
अन्तिम अवस्थामा पनि सहमति नभए ‘आन्तरिक जनवादको अभ्यास’ गर्ने उनको भनाइ छ। यसको अर्थ आन्तरिक प्रतिस्पर्धा भन्ने हो।
‘सहमति कायम गर्न सक्यौं भने त्यो पार्टीको हितमा हुन्छ। त्यसका लागि पहल पनि भइरहेको छ,’ उनले भने,‘त्यसो हुन नसके लोकतान्त्रिक अभ्यास गर्छौं।’
चुनावी प्रतिस्पर्धा गर्न पाइने भए पनि प्यानल बनाएर चुनाव लड्न भने नपाइने विष्टले प्रष्ट पारे।
पार्टीका अध्यक्ष केपी शर्मा ओली चुनावी प्रतिस्पर्धाको पक्षमा छैनन्। एमालेको चितवन महाधिवेशनमा उनले सर्वसम्मत अध्यक्ष बन्न चाहेका थिए। सर्वसम्मत बन्नका लागि उनले अधिवेशनलाई लम्बाइदिएका थिए।
पछि कुनै हालतमा पनि आफू सहमतिमा ओलीलाई अध्यक्ष मान्न तयार नभएको बरु चुनावबाट पराजित हुन तयार रहेको भीम रावलले बताउन थालेपछि चुनाव भएको थियो। आफूविरुद्ध चुनावी प्रतिस्पर्धा गरेका रावललाई ओलीले राजनीतिको किनारामा पुर्याएका छन्। उनलाई पार्टीले कुनै पनि जिम्मेवारी दिएको छैन।
यसअघि भएका प्रदेशहरूको अधिवेशनमा ओलीले सहमतिमा नेतृत्व छान्न प्रतिनिधिहरुलाई खुला रूपमा आग्रह गर्दै आएका थिए। तर सहमतिमा नेतृत्व छान्न नसकेपछि बागमतीको अधिवेशनका बेला ओलीले कैलाश ढुंगेलको पक्षमा मत मागेका थिए। अन्ततः उनी नै विजयी बनेका छन्।
आफूले भनेअनुसार सहमतिमा चुनावी प्रतिस्पर्धाको विषयलाई नेताहरूले नमानेपछि कुनै एक पक्षको प्रचार गरेर अर्को पक्षलाई रोक्ने ओलीको रणनीति छ। यसका साथै उनले प्यानल बनाउने अभ्यासलाई पनि रोकिदिएका छन्।
‘प्यानल खडा गरेर चुनाव लड्न पाईँदैन, दिईँदैन,’ उनले भने,‘अस्वस्थ प्रतिस्पर्धा गर्ने, प्यानल बनाएर चुनाव लड्ने अधिकार कसैलाई दिईँदैन र त्यो छुट पनि छैन।’

गण्डकीमा पृथ्वीसुब्बा र खगराजको दुई समूह छ भनेर हल्ला चलाएपनि वास्तविकता त्यस्तो नपाएको उनको जिकिर छ।
अध्यक्षमा आधा दर्जन आकांक्षी
एमाले गण्डकीको अध्यक्षमा आधा दर्जन आकांक्षी देखिएका छन्।
एमाले गण्डकीको अध्यक्षका लागि वर्तमान अध्यक्ष नवराज शर्मासहित ६ जनाले दाबेदारी प्रस्तुत गरेका हुन्।
आकांक्षीहरुले पीएस र केआरको आशिर्वाद रहेको दाबी गर्छन्। कतिपय भने समूह अदलबदलको अभ्यासमा समेत लागेको श्रोत बताउँछ।
अध्यक्षका दाबेदारमध्ये पीएस समूहबाट नवराज शर्मा, धनञ्जय दवाडी, सोभियत ढकाल र राजीव पहारी छन्।
केआर समूहबाट भने मायानाथ अधिकारी र कृष्ण थापाको चर्चा छ। तर राजिव पहारीले समूह परिवर्तन गर्न सक्ने सम्भावना छ।
पहारी आफैँले भने आफू सर्वसम्मत नेतृत्वको पक्षमा जिरह गर्दै आएका छन्।
‘सकभर सर्वसम्मत हुने चाहना छ,’ उनले भने,‘सहमति भएन भने चाहिँ साथीभाई र प्रतिनिधिहरुसँग छलफल गरेर निर्णय गर्छु।’ आवश्यक परे चुनावै लड्न पनि आफू पछि नपर्ने उनको भनाइ छ।
उसो त मायनाथ पनि पहिले पीएसकै समूहमा थिए। तर पीएसले यसपटक नवराज र धनञ्जयलाई प्राथमिकतामा राखेपछि उनी केआर समूहमा पुगेको बताइन्छ।
‘पीएसले मायानाथलाई यसपटक प्रतिनिधि हुन नै रोक्न खोजेका थिए। कसोकसो प्रतिनिधि भएर आए,’ एमालेका एक नेता जिकिर गर्छन्, ‘त्यसैले अहिले उनी केआर समूहमा छन्।’
अध्यक्षका दाबेदार नवराज शर्मा भने आफू कुनै पनि गुटमा नभएको जिकीर गर्छन्।
‘म कुनै पनि गुटमा छैन,’ शर्मा दाबी गर्छन्,‘दुवैलाई मिलाएर लैजान सक्ने पात्र मै हुँ। त्यसैले दुबैको समर्थनमा पुनः अध्यक्ष बन्न सक्छु।’
कास्कीमा पीएस र केआर समूह भनेर विभाजित भएपनि अन्य जिल्लामा त्यस्तो नरहेकाले आफू विजयी हुने दाबी गरे।
पोखराको अम्मरसिंह चौरमा हुने उद्घाटन समारोहमा ५० हजार कार्यकर्ता उतार्ने दावी एमाले गण्डकीको छ।



