पोखरा- पोखराको सूर्यदर्शन सहकारीबाट सञ्चालक समितिका पदाधिकारी तथा सदस्यले सहायक कम्पनी र विभिन्न व्यक्ति खडा गरेर कागजात बिनै डेढ अर्ब रुपैयाँ हिनामिना गरेको पाइएको छ।
गितेन्द्रबाबु (जीबी) राईको समूहबाट पोखरामा २०६५ सालमा खालेको सूर्यदर्शनबाट गुण्डागर्दी, व्यवसाय हुँदै राजनीतिमा लागेका महेन्द्र भोटेसहितले रकम अपचलन गरेको पाइएको हो।
पोखरा महानगरपालिकाले सहकारीको आर्थिक हिनामिनासम्बन्धी विश्लेषणात्मक अध्ययन गर्न गत भदौ १० गते विशेषज्ञ समिति गठन गरेको थियो।
सो समितिको विश्लेषणात्मक अध्ययन प्रतिवेदनअनुसार सुरुदेखि नै सूर्यदर्शनले बचतकर्ताबाट रकम संकलन गरी अन्य क्षेत्रमा लगाउँदै आएको पाइएको देखाएको हो। यसरी ठूलो रकम अपचलन भएको अध्ययनले देखाएको छ।
प्रतिवेदन महानगर हुँदै जिल्ला प्रहरी कार्यालय पुगेको छ। प्रहरीले यो प्रतिवेदन अध्ययन गरी रहेको बताएको छ।
१/२ दिनभित्रै प्रहरी कार्यालयबाट अदालतमा मुद्दा अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख मोहनबहादुर थापाले जानकारी दिए।
सहकारीको रकम अपचलन गर्न नेतृत्व गरेको भन्दै १९ जनालाई विपक्षी बनाएर मुद्दा दायर गर्ने तयारी भइरहेको थापाले बताए।
सहकारीका कोषाध्यक्ष २२ दिनअघि नै पक्राउ परिसकेका छन्। बाँकी १८ व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।
रकम अपचलन गर्नेमा जीबी राई, उनका दाइ भूपेन्द्र, कैलाश दर्लामी, धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, मनोज नकर्मी, सुरज श्रेष्ठ, शिवबहादुर गुरुङ (महेन्द्र भोटे), भविश्वेर अर्याल, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङलगायतका पदाधिकारी तथा सञ्चालक छन्।
लेखा अधिकृत सृष्टि मानन्धर र लोखा अधिकृत बुद्धि गुरुङलाई पनि सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ पुर्जी जारी गरिएको छ।
यीमध्ये (महेन्द्र भोटे) शिवबहादुर गुरुङ र आइस्मा तामाङ कास्की मादी–६ भाचोकका हुन् भने ललिता तामाङ र सुरज श्रेष्ठ साविक लेखनाथका हुन्। बुद्धि गुरूङ मादी–९ मिजुरेडाँडाका हुन्।
गत साउन ३२ गते प्रहरी कार्यालयले सूचना जारी गरी भदौ १५ गतेसम्म पीडितहरुलाई जाहेरी दिन आग्रह गरेको थियो।
पोखरा–४, नालाकोमुखमा रहेको सूर्य दर्शन सहकारीका १ हजार ३६ जना बचतकर्ताले रकम दाबी गर्दै प्रहरी कार्यालयमा उजुरी दिएका छन्।
त्यही उजुरीको आधारमा प्रहरीले गत भदौ २४ गते नै जीबी राईसहित ७ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो। उक्त संख्या अहिले १९ पुगेको छ।
जीबी अध्यक्ष हुँदा २१ करोड ४२ लाख र जीबीलगत्तै उनका दाइ भूपेन्द्र अध्यक्ष हुँदा ८० करोड ७० लाखको हिसाब नदेखिएको प्रतिवेदनमा उल्लेख छ।
संस्थापक अध्यक्ष ज्ञानबहादुर बम्जनको पालामा १९ करोड १८ लाख हिनामिना भएको पाइएको छ।
थानबहादुर बुढाको पालामा २७ करोड ४८ लाख रुपैयाँ अपचलन भएको विश्लेषण विशेषज्ञले गरेका छन्।
सहकारीको १ अर्ब ३१ करोड ५३ लाख ८२ हजार रुपैयाँ अपचलन भएको देखिएको र कतिपय रकमको अभिलेख नै नभेटिएको प्रतिवेदनमा छ।
कास्कीको मादी गाउँपालिका वडा नं. १० घर भई हाल पोखरा बस्दैं आईरहेका ३९ वर्षीय महेन्द्र भोटेको समूहले सहकारीबाट ठगी गरी पोखरा–१८ सेदी निर्माणाधीन बराही लक्जरी होटलदेखि, हिडन क्याम्प रिर्सोट, पोखरा अल्ट्रा लाईट, ट्रेजर लञ्च एन्ड बार, ओजन डान्स बार, आफैँले वर्गीकरण गरेर बनाएको गण्डकी प्रदेशको वर्गको पत्रिका भनिने समाधान दैनिक हुँदैं पोखरादेखि विभिन्न सहरमा जग्गा र भवन खरिद बिक्रीमा समेत रकम लगानी गरेको स्रोतको दाबी छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ पूर्जी जारी गरेसँगैं महेन्द्र भोटे फरार भएका छन्।


