काठमाडौँ- नेपाली कांग्रेसले पूर्वमन्त्री गोविन्दराज जोशी, विकास कोइरालालगायत नेतामाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ। आइतबार सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए।
२०७९ भन्दा पहिले स्वतन्त्र उम्मेदवारी दिएर पार्टी अनुशासन उल्लंघन गरेका बारा, तनहुँ र चितवन नेताहरुको पुरानै सदस्यता निरन्तरता हुने गरी कारबाही फुकुवा गर्ने निर्णय गरिएको छ। उनका अनुसार कारबाही फुकुवा गरेका नेताहरुले उपनिर्वाचनमा खेल्ने भूमिकालाई हेरेर आगामी दिनमा कांग्रेसले थप निर्णय लिने छ।
गत निर्वाचनमा रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएपछि जोशी कारबाहीमा परेका थिए। चितवनका कोइराला पूर्वजिल्ला सभापति हुन्। २०७० सालको संविधानसभा निर्वाचनमा पार्टीका तत्कालीन केन्द्रीय सभापति सुशील कोइरालाविरूद्ध तत्कालीन चितवन-४ बाट स्वतन्त्र उम्मेदवार उठेपछि विकास कोइराला कारबाहीमा परेका थिए।
यस्तै बारा-२ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवारलाई सघाउने निर्णय पनि कांग्रेसले गरेको छ।


