काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सबै प्रक्रिया पूरा गरेर आएका व्यवस्था इन्कार गर्न सक्ने संवैधानिक व्यवस्था नरहेको बताएका छन्।
खुँडा प्रहार गरी चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका नेपालगञ्जका कांग्रेस कार्यकर्ता रिगल भनिने योगराज ढकाललाई रिहा गरिएको विषयमा असन्तुष्टि व्यक्त गर्न आएका रास्वपा सभापति रवि लामिछानेसहितको ध्यानाकर्षण पत्र बुझ्दै राष्ट्रपतिले यस्तो बताएका हुन्।
संसदीय व्यवस्थाको मान्यता अनुसार मन्त्रिपरिषदले गरेको निर्णयको जसअपजसको भागी सरकार नै हुने तर सरकारले प्रक्रिया पूरा गरेका काम आफूले रोक्न नसक्ने राष्ट्रपतिको भनाइ थियो। उनले रिगल रिहाइको विषयमा पनि सरकारलाई नै प्रश्न गर्न आग्रह गरेका थिए।
संविधानले राष्ट्रपतिलाई विवेक प्रयोग गर्न दिएको ठाउँमा आफूले प्रश्न उठाएर ३४ जनाको आममाफीका लागि गृह मन्त्रालयबाट आएको पत्र फिर्ता पठाइदिएको समेत पौडेलले स्मरण गरेका थिए।
‘हाम्रो संविधान, हाम्रो गणतन्त्र र हाम्रो संसदीय व्यवस्था तपाईहरूले बुझ्नुभएको छैन भन्ने मलाई लाग्दैन,’ राष्ट्रपति पौडेलले भने, ‘तपाईहरू संसदमा हुनुहुन्छ, सरकार पनि संसदमा नै छ। त्यही तपाईहरूले प्रधानमन्त्री, गृहमन्त्रीलाई किन जवाफदेही बनाउन सक्नुभएन र सोझै यहाँ आउनुभयो? अलिकति यो संविधान र व्यवस्था अनुसार प्रक्रिया मिलेन कि जस्तो लाग्यो।’
कहिलेकाँही यहाँ आउनुपर्ने अवस्था नेताहरूको हुन सक्ने भएपनि रास्वपा आएको यसपटक भने उल्टो भएजस्तो लागेको बताए।
‘संविधानमा राष्ट्रपतिले स्वविवेकले आममाफी दिन सक्ने व्यवस्था टेकेर आएको ३४ जनाको बारेमा विधि, प्रक्रियाका सम्बन्धमा मैले प्रश्न उठाएर गृहमन्त्रालयमा फकाईदिएको छु,’ पौडेलले भने, ‘जहाँसम्म ६७० जनाको बाँकी कैद मिनाहाको विषय छ। त्यो सबै प्रक्रियाहरू पुर्याएर मन्त्रिपरिषदले निर्णय गरेपछि आएको विषय मैले स्वीकार गर्नुपर्ने संवैधानिक व्यवस्था छ।’
राष्ट्रपति पौडेलले कानुन नमिलेको भए कानुन मिलाउने, संशोधन गर्ने अधिकार संसदलाई भएको स्मरण गराए।
‘तपाईहरू जस्तो संविधान र गणतन्त्रप्रति प्रतिबद्ध भएका नेताहरूले होसियार भएर सोच्न जरुरी छ। म सुन्छु, सबै कुराको दोष राष्ट्रपति संस्थामाथि थोपरेर यो व्यवस्था र गणतन्त्र नै ठीक छैन भन्ने पुष्टि गर्न र ७० वर्ष लडेर ल्याएको यो प्रणालीलाई कमजोर पार्न खोजिँदैछ,’ उनले भनेका थिए, ‘यसमा तपाईहरू सचेत हुनुहोला र यसलाई जोगाउनु तपाईहरूको दायित्व हो।’
रास्वपाका सभापति रवि लामिछानेले अभिभावकको हैसियतले राष्ट्रपतिज्यूसमक्ष सरकारको ध्यानाकर्षण गराइदिन आग्रह गर्न आएको बताएका थिए।
राष्ट्रपतिलाई भारती सोध्छिन् – तपाईंको दिदी-बहिनी परेको भए के गर्नुहुन्थ्यो?


