काठमाडौँ- १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग पराजित भएको छ।
२०३ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७९ रन जोडेको हो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले १५ बलमा चार छक्कासहित ३२ र सन्दीप जोराले १२ बलमा ३ छक्कासहित २९ रन बनाए।
कुशल भुर्तेलले २८, कुशल मल्ल २९ र आसिफ शेखले १० रन बनाए।
सोमपाल कामी ७ र गुल्सन झा ६ रन बनाएर आउट भए। कप्तान रोहित पौडेलले ३ रन मात्र जोड्न सके।
भारतका रवि विस्नोई र आभेस खानले नेपालका ३-३ विकेट लिएका थिए भने अर्सदिप सिंहले २ विकेट लिए।
यसअघिको इनिङमा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाएर २०२ रन जोड्न सफल भएको थियो।
नेपालका अविनाश बोहराले १६.२ ओभरको बलमा भारतका यशस्वी जैसवालको विकेट लिएका थिए।
यद्यपि जैसवालले ४९ बलमा सय रन बनाएका थिए। उनले ८ चौका र ७ छक्का प्रहार गरेका थिए।
सन्दीप लामिछानेले जितेश शर्मालाई आउट गराएर टिमका लागि तेस्रो विकेट लिएका थिए। ५ बल सामना गरेका जितेश ४ रन बनाएर पेभेलियन फर्किए।
दीपेन्द्र सिंह एरीले भारतीय ब्याटर ऋतुराज गायकवाडलाई आउट गराए। गायकवाड २३ बलमा २५ रनका साथ आउट भए।
सोमपाल कामीले तिलक वर्मालाई आउट गराए। उनले १० बलमा २ रन बनाए।
भारतका शिवम दुवेले २५ र रिंकु सिंहले ३७ रन जोडे।
यसअघि नेपालले भारतसँग टी-२० खेलेको थिएन।
नेपाल समूह ‘ए’ को विजेता हुँदै अन्तिम आठमा पुगेको हो।
भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान भने वरीयताका आधारमा सिधा अन्तिम आठमा पुगेका थिए।


