काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको कसुरमा कारबाही गर्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ। आइतबार सिन्धुलीका युवराज पौडेल ‘सफल’ले सर्वोच्चमा रिट दायर गरेका हुन्।
उनले दायर गरेको रिटमाथि सर्वोच्चले अध्ययन गरिरहेको बताएको छ। रिटमा महान्यायाधीवक्ताको कार्यालयलाई विपक्षी बनाइएको छ। यसअघि नेपाल प्रहरी र सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेका थिए।
‘रवि लामिछानेले आफू अमेरिकी नागरिक भएपश्चात नेपाली नागरिक भएको झुटो विवरण दिएर नेपाली राहदानी प्राप्त गर्ने जुन कार्य गरे त्यो राहदानीको दुरुपयोगयुक्त कसूरजन्य र दण्डनीय कार्य हो। महान्यायाधिवक्ताज्यूको कार्यालय र महान्यायाधिवक्ताज्यू समेतले निज विपक्षी रवि लामिछानेविरुद्धमा मुद्दा नचलाउने गरी मिति २०७९/१२/०६ गते निर्णय गर्नु भएको हुँदा सो निर्णय उत्प्रेषणको आदेशले बदर गरी मुद्धाको निस्पक्ष रुपमा अनुसन्धान गरी निज रबि लामिछानेलाई मुद्धा चलाउनु भनी विपक्षीहरुका नाममा परमादेशको आदेश समेत जारी गर्न रिटमा माग गरिएको छ।
लामिछानेले २०७० फाल्गुन ९ मा अमेरिकी नागरिकता लिएका थिए। अमेरिकी नागरिकता र राहदानी रहेकै अवस्थामा उनले २०७२ जेठ १३ गते नेपाली राहदानीसमेत बनाएका थिए। यसअघि नै लामिछानेले अमेरिकी नागरिकता लिएको बयानको क्रममा स्वीकार गरिसकेका छन्।
अमेरिकी नागरिकता लिने बित्तिकै नेपाली नागरिकता खारेज भएको व्याख्या गर्दै सर्वोच्चले माघ १३ गते प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बन्न अयोग्य रहेको फैसला गरेको थियो। उक्त फैसला आउनुअघि नै निर्वाचन सम्पन्न भएर रवि गृहमन्त्री बनेका थिए। फैसलासँगै लामिछानेको रास्वपा सभापति र प्रतिनिधि सभा सदस्यका साथै गृहमन्त्री पद पनि गुमेको थियो। केही दिनमा नै नागरिकता लिएर उनले प्रतिनिधि सभा सदस्या बाहेकका पद पुनः प्राप्त गरेका थिए।
उनको उम्मेदवारी अयोग्य भएकाले सांसद पद गुमेपछि निर्वाचन आयोगले वैशाख १० गते उनी निर्वाचित क्षेत्र चितवन-२ मा उपनिर्वाचन गर्ने तय गरिसकेको छ। सोमबार उपनिर्वाचनका लागि मनोनयन दर्ता गर्ने दिन तोकिएको छ।
यस्तो छ रिट


