काठमाडौँ- वैदेशिक रोजगारीको लागि युरोपियन मुलुक पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
प्रहरीले मंगलबार पाकिस्तानी र अजरबैजनी नागरिकलाई ठमेलको होटल यात्री एन्ड डुड्डी स्वीट्स एन्ड स्पाबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पाकिस्तान राहुल पिण्डी घर भएका ५१ वर्षीय नाजिर मोहम्मद र अजरबैजानकी ३१ वर्षीया एयसेल हुसेनिल रहेका छन्।
वैदेशिक रोजगारको लागि चेक रिपब्लिक, नर्वे, पोल्याण्ड, पोर्चुगल लगायतका देशमा पठाइदिन्छु वर्कपर्मिटलगायतका नक्कली कागजात देखाएर नेपाली नागरिकहरूबाट लाखौं रुपैयाँ ठगी गरेको आरोपमा उनीहरू पक्राउ परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए।
उनीहरूलाई उक्त होटलको ३०४ र ३१४ नम्बर कोठाबाट मंगलबार साँझ साढे ६ बजे पक्राउ गरिएको राठौरले बताए।
दुवैले करिब ८० लाख रुपैयाँ ठगी गरेको खुलेको उनले बताए। उनीहरूले नक्कली लेटर, वर्कपर्मिट, भिसालगायतका कागजत देखाएर ठगी गरेको खुलेको छ।
भिसा प्रोसेसिङका लागि उनीहरूले प्रतिव्यक्ति एक हजार रुपैयाँ डलर लिने गरेको पाइएको राठौरले बताए।
विदेश पठाइदिनका लागि विश्वास दिलाउन उनीहरूले अजरबैजनी देशमा पीडितहरूलाई घुमफिरसमेत गराएको खुलेको छ।
उनीहरूविरूद्ध आधा दर्जन व्यक्तिले उजुरी दिएका छन्। दुबै गत सेप्टेम्बर २० तारिखमा भिजिट भिसामा नेपाल आएका थिए।


