काठमाडौं– नबिल बैंकले नेपालमा ऊर्जा दक्ष र दिगो आवासको प्रवद्र्धनका लागि युरोपियन युनियनको सहयोगमा बिल्डिङ इनर्जी इफिशियन्सी इन नेपाल(बीन)सँग एक समझदारी पत्रमा हस्ताक्षर गरेको छ । यो सम्झौतासँगै नबिल बैंक र बीन प्रोजेक्ट दुवै नेपालमा दिगो र जलवायु अनुकुल भवन डिजाइनको प्रवर्द्धनमा काम गर्न सहमत भएका छन् ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुंगाना र बीन प्रोजेक्टका प्रोजेक्ट लिडर ड्यानियल नेयरले एमओयूमा हस्ताक्षर समारोहमा उपस्थित अन्य पेशाकर्मीहरू बीच सम्झौतामा हस्ताक्षर गरे।
बैंकका अनुसार यो साझेदारीले विशेष गरी अभिनव वित्तिय प्याकेज विकास गर्ने, वित्तीय प्याकेजको मूल्याङ्कन गर्न प्राविधिक क्षमता निर्माण गर्ने र दिगो र ऊर्जा दक्ष भवनहरूको प्रवद्र्धनका लागि प्राथमिकताका वित्तीय योजनाहरूमा पहुँच पुर्याउन लिंकेज सहजीकरण गर्नेलगायतका गतिविधिहरू सञ्चालन गर्ने बैंकले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले जलवायु परिवर्तनप्रति संवेदनशिल रहेको र ग्लोबल वार्मिङ न्यूनीकरणमा योगदान पु¥याउँदै आएको बताए । जलवायु आपतकालिन न्यूनीकरणमा बैंकिङ क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउँदै पौड्यालले भने, ‘उर्जा दक्ष र दिगो भवन निर्माणले वातावरणलाई मात्र फाइदा पुर्याउँदैन, हाम्रो समुदाय र आर्थिक चक्रमा पनि सकारात्मक प्रभाव पार्छ ।’ उनले सन् २०४५ सम्ममा शुद्ध शून्य उत्सर्जनमा पुग्न ठूलो लगानी आवश्यक रहेको बताए ।
दिगो आवासको प्रवद्र्धन र सचेतना गर्ने साझा लक्ष्यका साथ नबिल बैंकले ‘सस्टेनेबल हाउसिङ लोन’ ल्याएको छ । जहाँ बीनले मापदण्डहरू परिभाषित गर्न प्राविधिक सहयोग प्रदान गर्दैछ र साथै दिगो आवासको प्रवर्द्धन र सचेतना प्रदान गर्न पनि सहयोग गरिरहेको छ।
प्रमुख कार्यकारी अधिकृत ढुंगानाले नबिल बैंकले दैनिक कारोबारमा अन्य दिगो अभ्यासका साथै विद्युतीय सवारी साधन फाइनान्सिङ र सस्टेनेबल हाउसिङ लोन उत्पादनलाई प्रवर्द्धन गरी दिगोपनलाई प्रवर्द्धन गर्दै आएको बताए । उनले थपे, ‘हामीले नबिल सस्टेनेबल हाउजिङ लोन ल्याएका छौं जसले दिगो भवनलाई प्रवर्द्धन गर्छ र निर्माणमा पाँच दिगो कम्पोनेन्टहरू समावेश गर्दछ। सुरुमा यस्ता भवनहरूमा लगानी गर्न महँगो देखिन्छ तर लामो समयसम्म यसले लागत, ऊर्जा बचत र दिगो ग्रहको लागि योगदान पुर्याउँछ।’
