काठमाडौं– विगत ७ वर्षदेखि प्रायोजकका रूपमा मिस नेपाल प्रतियोगितासँग साझेदारी गर्दै आइरहेका वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिले यो वर्ष पनि यस सम्बन्धलाई निरन्तरता दिने भएको छ ।
साझेदारीमा आधारित रही यही डिसेम्बर २०२३ मा भारतमा हुन गइरहेको मिस वल्र्ड २०२३ प्रतियोगितामा मिस नेपाल २०२२ प्रियंका रानी जोशीद्वारा प्रस्तुत गरिने ‘ब्यूटी विथ ए पर्पोज’ परियोजनामा पुनः वृज सिमेन्टको सहभागीता रहने कम्पनीले जनाएको छ ।
‘ब्यूटी विथ ए पर्पोज’लाई मिस वर्ल्डमा जितिने सबैभन्दा प्रतिष्ठित उपाधि मानिन्छ । यो उपाधि नेपालले सन् २०१३, २०१८ र २०१९ मा जितिसकेको पनि छ । यस वर्ष प्रियंका रानी जोशी आफ्नो ‘ब्यूटी विथ ए पर्पोज’ योजनाका लागि चितवन जिल्ला इच्छाकामना गाउँपालिका वडा नं. ७ स्थित उपरदाङगढीका चेपाङ महिलाहरूको आर्थिक उत्थानमा केन्द्रित रहेकी थिइन ।
अहिलेको युगमा बिजुली जीवनको लागि आधारभूत आवश्यकताझैँ भइसकेको छ । तैपनि नेपालका कतिपय दुर्गम बस्तीहरू विद्युतको पहुँचमा छैनन् । कुल ५०० जनाको जनसंख्या रहेको उपरदाङगढी पनि यस्तै एक बस्ती हो । विद्युत अनुपलब्धताका कारण यहाँका बासिन्दा शिक्षा र स्वास्थ्य जस्ता आधारभूत सेवाहरूबाट पनि वञ्चित छन् ।
बिजुली नपुगेका कारणले ऊर्जाका लागि उपरदाङगढीवासी दाउरा, मट्टीतेल, गुइँठा आदिमा भर पर्न बाध्य छन्, जसको प्रत्यक्ष मारमा महिलाहरू परेका छन् । उनीहरूको दिनचर्या काठ, टुकी आदि व्यवस्थापनमा नै बित्ने गरेको छ । जसले उनीहरूलाई आर्थिक–सामाजिक अवसरहरूबाट टाढा राखेको छ । साथै, यस्ता पारम्परीक ऊर्जाका स्रोतको प्रयोगबाट उत्पन्न हुने धुवाँले उनको स्वास्थ्यमा निकै नकारात्मक असर परिरहेको छ ।
यो अवस्थाको अन्त्य गर्न र महिलाहरूको आर्थिक विकास र प्रगतिलाई टेवा दिन प्रियंका रानी जोशीको उपरदाङगढीमा बिजुली ल्याउने, यहाँ सामुदायिक भवन निर्माण गर्ने, स्थानीय विद्यालयको जीर्णोद्धार गर्ने लगायतका सत्कार्यका लाग केडिया अर्गनाइजेसनले सहकार्य गर्नेछ ।
त्यसैले मिस नेपाल २०२२ प्रियंका रानी जोशीको यस परियोजनाका लागि आवश्यक पर्ने सिमेन्ट वृज सिमेन्ट र पुष्पतारा केडिया सेवा फाउण्डेशनले संयुक्त रूपमा प्रदान गर्ने घोषणा शुक्रबार गरेको हो । केडिया अर्गनाईजेसन अन्तर्गतको संस्था वृज सिमेन्ट विगतलामो समयदेखि नेपालीबजारमा आफ्नो गुणस्तरीय उत्पादन तथा उत्कृष्ट सेवाको लागि परिचितरहेको छ ।


