२०८३ कार्तिक १२ गते बुधबार

इजरायलमा हमास आक्रमणको कारण के?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २१
isreal
सन् २०२३ अक्टोबर ७ मा हमासले प्यालेन्टाइनबाट इजरायलतर्फ गरेको आक्रमण। तस्बिर : हाटेम मुसा

काठमाडौँ- शनिबार गाजा क्षेत्रमा हमासले गरेको आक्रमणको २४ घण्टा कटेको छ। इस्लामिक समूहले स्थानीय समयअनुसार शनिबार बिहान ६:३० बजे तेल अभिभ र जेरुसेलमसम्म हजारौं रकेट प्रहार गरेको थियो। त्यहाँको प्रतिरक्षा प्रणालीलाई छिचोल्दै इजरायली भवनहरूमा आक्रमण भएको थियो।

उक्त आक्रमणबारे हालसम्म केके भयो त? यसको यकिन विवरण सार्वजनिक सञ्चार माध्यममा प्रष्ट रूपमा आइसकेको छैन। तैपनि गाजा क्षेत्रमा भएको यो आक्रमणमा परी कम्तीमा तीन सय जनाको मृत्यु भएको छ भने दुई हजार घाइते भएको र कयौँलाई बन्धक बनाइएको समाचारहरू सार्वजनिक भएका छन्।

प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले कम्तीमा तीन सय १३ जनाको मृत्यु भएको बताएको छ भने इजरायली पक्षले सयौँको संख्यामा हाताहती भएको बताएको छ। यसका साथै प्यालेस्टाइनी पक्षले दर्जनौँ व्यक्तिलाई नियन्त्रणमा लिएको समेत उसले बताएको छ।

गाजा क्षेत्रमा अप्रत्याशित रूपमा भएको आक्रमणमा परी प्यालेस्टाइनी पक्षका बन्दुकधारी सयौँको मृत्यु भएको इजरायली रक्षा मन्त्रालयको दाबी रोयटर्समा प्रकाशित छ।

इजरायलको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै कम्तीमा पनि तीन सय जना इजरायली मारिएको टर्कीस्थित इजारायली दूतावासले भनेको छ। यसका साथै झन्डै २ हजार जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। उनीहरुमध्ये १९ जनाको अवस्था गम्भीर छ। अमेरिकास्थित इजरायली दूतावासका अनुसार कम्तीमा पनि १०० जनालाई हमास समूहले नियन्त्रणमा लिएको छ। तर यो आँकडालाई इजरायली पक्षले औपचारिक रुपमा भने सार्वजनिक गरेको छैन।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टिनी लडाकू समूह हमासले एक्कासी इजरायलमाथि गरेको आक्रमणमा दुवै पक्षका सयौँ व्यक्तिको मृत्यु भएपछि ‘लामो र कठिन’ युद्ध हुने चेतावनी दिएका छन्। गाजा क्षेत्रमा इजरायलले पनि प्रत्याक्रमण सुरु गरेको छ। उसले सुरक्षित स्थानमा रहन त्यहाँका बासिन्दालाई अनुरोध पनि गरेको छ।

गाजा सहरमा रहेका बीबीसीका संवाददाताका अनुसार सहरमा ठूला विस्फोटका आवाज आइरहेका छन्। त्यहाँका मानिसहरू संयुक्त राष्ट्रसंघका आश्रयस्थलमा आश्रय लिन पुगेका छन्।

यो आक्रमणमा प्यालेस्टाइनी हमास समूह मात्र नभएर लेबनानी हिजबुल्लाह पनि सामेल भएको अनुमान गरिएको छ। इजरायलले लेबनानी सीमा क्षेत्रमा पनि फायरिङ सुरु गरेको छ।

दशकौँ यताको सबैभन्दा रक्तपातपूर्ण द्वन्द्वमा हमासले शनिबार व्यापक स्थल, हवाई र समुद्री आक्रमण गरेको थियो।

लेबनानको शक्तिशाली इरान समर्थित ‘हिजबुल्लाह मुभमेन्ट’ले हमासले इजरायलविरूद्ध गरेको कारबाहीप्रति ‘ऐक्यबद्धता जनाउन’ विवादित सीमा क्षेत्रमा इजरायली चौकीमा ‘ठूलो सङ्ख्यामा तोपका गोला र निर्देशित क्षेप्यास्त्र’ प्रहार गरेको जनाएको छ।

इजरायली प्रधानमन्त्री नेतन्याहूले हमासको अन्धाधुन्ध आक्रमण गरी युद्ध निम्त्याएको चेतावनी दिएका छन्। ‘पहिलो चरण यस समयमा हाम्रो भूमिमा घुसपैठ गर्ने अधिकांश शत्रु सेनाको विनाशद्वारा समाप्त हुँदैछ,’ एक्समा उनको चेतावनी छ।

रातभर इजरायलले गाजा पट्टीमा हवाई आक्रमण गरेको थियो भने प्यालेस्टाइनी भूमिबाट इजरायली क्षेत्रमा रकेट प्रहार भएको थियो।

गाजाको सीमापारिको स्डेरोट प्रहरी चौकीलगायत विभिन्न स्थानमा इजरायली सेना र हमासका सयौं लडाकूबीच आइतबार बिहान पनि गोली हानाहान भइरहेको छ।

प्रहरी र इजरायली सेनाको विशेष फौजले स्टेसनभित्र लुकेर बसेका १० जना सशस्त्र आतङ्ककारीलाई निष्प्रभावी पारेको प्रहरीको दाबी छ।

सन् १९७३ को अरब–इजरायल युद्ध सुरु भएको आधा शताब्दीपछि हमासले शनिबार गरेको रक्तपातपूर्ण हवाई, समुद्र र स्थल आक्रमणले विश्वलाई फेरि एकपटक दुखी तुल्याएको छ।

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को आपतकालीन बैठक आइतबारका लागि बोलाइरहँदा राष्ट्रपति जो बाइडेनले अमेरिकी सहयोगी (इजरायल)को समर्थनका पक्षमा ‘चट्टानी अडान’ रहेको बताएका छन्।

इजरायली समाचार वेबसाइटका यनेटका अनुसार धेरै महिला, बालबालिका र वृद्धहरूसहित दर्जनौं इजरायली बन्दीहरूलाई गाजा पट्टीमा लगिएको विश्वास गरिएको छ।

नेतन्याहूका अनुसार युद्धका कारण इजरायलले गाजाको बिजुली, इन्धन र सामानको आपूर्ति बन्द गरेको छ।

अन्तर्राष्ट्रिय समुदायको निन्दा
संयुक्त राष्ट्रसङ्घले गाजापट्टीमा शनिवार भएको घटनाले विश्व समुदायलाई चिन्तित बनाएको बताएको छ।

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार प्रमुख भोल्कर तुर्कले भने, ‘म हिंसा तत्काल रोक्न आह्वान गर्दछु र थप रक्तपात हुन नदिन सबै पक्ष र यस क्षेत्रका प्रमुख देशहरूलाई तनाव कम गर्न अपिल गर्दछु ।’

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले शनिवारै विज्ञप्ति जारी गरी ‘हमासका आतङ्ककारीहरूले इजरायली नागरिकमाथि गरेको अकारण आक्रमणको संयुक्त राज्य अमेरिका कडा एवं स्पष्ट शब्दमा निन्दा गरेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गाजाका लडाकुसमूहले गरेको आक्रमणपछि आफ्नो देश इजरायलसँग ऐक्यवद्धताका साथ उभिएको बताएका छन्। मोदीले ट्विटरमा लेखेका छन्, ‘यस कठिन घडीमा हामी इजरायलको साथमा छौँ ।’

रूसी विदेश मन्त्रालयले ‘युद्ध’ लाई तत्काल रोक्न र बृहत् तथा स्थायी शान्तिको लागि आग्रह गरेको छ।

आक्रमणप्रति बेलायत, फ्रान्स, जर्मनी, यमनलगायतले प्यालेटिनी क्षेत्रमा भएको युद्ध अन्त्यको लागि कामना गरेका छन् भने स्थायी शान्ति कायम गर्न द्वन्द्वरत दुवै पक्षसँग आह्वान गरेका छन्।

साउदी अरबको विदेश मन्त्रालयले दुई पक्षबीचको तनाव तत्काल रोक्न, नागरिकको सुरक्षा र आत्मसंयमका लागि आह्वान गरेको छ।

इरानले भने हमासद्वारा इजरायलमाथि गरेको आक्रमणको समर्थन गरेको छ। इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीका वरिष्ठ सल्लाहकारले आक्रमणलाई ‘गौरवपूर्ण अभियान’ भनेका छन्।

‘हामी यो अभियानलाई समर्थन गर्दछौँ,’ याह्या रहिम सफावीले उद्धृत गर्दै आईएसएनए समाचार एजेन्सीले लेखेको छ। सफावीले प्यालेस्टाइन र जेरुसेलमको मुक्ति नभएसम्म प्यालेस्टाइनी लडाकूलाई समर्थन गरेको बताए।

के हो कारण?
हमास एक प्यालेस्टाइनी सैन्य समूह हो। वेस्ट बैंक र गाजा पट्टी क्षेत्रमा प्यालेस्टाइनीहरूका दुईमध्ये एक राजनीतिक दल पनि हो। गाजा पट्टी नजिक १० किलोमीटर चौडा र ४१ किलोमीटर लामो इलाका छ। त्यहाँ करिब २२ लाख मानिस बसोबास गर्छन्। उक्त इलाकामा हमासको नियन्त्रण र शासन छ।

हमासको सैन्य दस्ता पनि छ। इजरायल, अमेरिका, यूरोपियन युनियन र युनियन सहित धेरै देशले यसलाई आतंकवादी संगठनको नाम दिएका छन्।

हमास सन् १९८० को दशकमा स्थापना भएको थियो। यो प्यालेस्टिनी चरमपन्थी सामाजिक र राजनीतिक पार्टी हो।

हमासले सन् १९८७ मा आफ्नो शक्ति प्रदर्शन गरेको थियो। यसले इजरायलविरुद्ध प्यालेस्टिनी जनताको आवाज उठाउन पहिलो इन्टिफादा सुरु गर्यो। हमासको अर्थ अरबीमा ‘इस्लामिक प्रतिरोध आन्दोलन’ हो। हमासको स्थापना शेख अहमद यासिनले गरेका थिए, जो १२ वर्षको उमेरदेखि नै ह्वीलचेयरमा थिए।

शेख अहमद यासिन यस चरमपन्थी समूहका धार्मिक नेता थिए। सन् २००४ मा इजरायली हमलामा उनको मृत्यु भएको थियो। सन् १९९० को दशकदेखि हमासले आफूलाई सैन्य संगठनको रूपमा स्थापित गर्न काम गरिरहेको छ। हमास गाजा पट्टीबाट सञ्चालन हुन्छ। यहाँ उसले सरकार चलाउँछ र जनतालाई सहयोग गर्छ। यसको एक सैन्य शाखा छ, जसको नाम ‘इज्जेदिन अल कसाम ब्रिगेड’ हो। इजरायलविरुद्ध आक्रमण गर्ने जिम्मेवारी यसैले पाएको छ।

सन् १९४८ मा इजरायल बनेपछि अरब राष्ट्रहरूमा असन्तुष्टि बढ्यो। जोर्डन, इजिप्ट, सिरिया, सबै अरब देश प्यालेस्टिनी मामलाका सरोकारवाला थिए।

सन् १९६४ मा प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन इजरायलको विरोध गर्न गठन गरिएको थियो। यासिर अराफात सन् १९८० र १९९० को दशकमा पीएलओका सबैभन्दा लोकप्रिय नेता थिए। उनको पार्टीको नाम फतह पार्टी थियो, जसले गाजा र वेस्ट बैंकमा सन् १९९६ मा भएको पहिलो चुनाव जितेको थियो।

गाजा र वेस्ट बैंकको क्षेत्रलाई ‘प्यालेस्टाइन नेसनल अथोरिटी’ भनेर चिनिन्छ, जहाँ प्यालेस्टिनीहरू सरकार चलाउन जिम्मेवार छन्। ‘प्यालेस्टाइन नेशनल अथोरिटी’ लाई संयुक्त राष्ट्र संघले पनि मान्यता दिएको छ। सन् २००४ मा अराफातको मृत्युपछि प्यालेस्टाइन राष्ट्रिय प्राधिकरण र फतह पार्टीको नियन्त्रण मोहम्मद अब्बासको हातमा गयो। यसैबीच, हमासले आफ्नो सैन्य शाखा बलियो बनाउन जारी राख्यो र लोकप्रियता पनि बढ्दै गयो।

सन् २००५ मा दोस्रो पटक चुनाव हुँदा फताह पार्टीले ‘प्यालेस्टाइन नेसनल अथोरिटी’ को राष्ट्रपति चुनाव जित्यो। तर गाजा पट्टीमा हमासले जित हासिल गरेको छ। तर, गाजामा पनि फतह पार्टीको सरकार चल्ने थियो किनभने उसले राष्ट्रपति चुनाव जितेको थियो। तर २००६ मा गाजाले यहाँ कू र आफ्नै सरकार गठन गर्यो। २००७ देखि यसले गाजालाई पूर्ण रूपमा कब्जा गर्यो। गाजा स्ट्रिपमा हमासको सरकार छ भने पश्चिम बैंकमा फताह पार्टीको शासन छ।

वास्तवमा, यो विवादको कारण अल–अक्सा मस्जिद परिसर हो। हमासका सैन्य कमाण्डर मोहम्मद डेफले ‘अपरेशन अल–अक्सा स्ट्रोम’ घोषणा गरेका छन्। यसको अर्थ अल–अक्सा कम्पाउन्डलाई मुक्त गर्नु हो। अल–अक्सा मस्जिद जेरुसेलम शहरमा छ। जुन सहरमा पछिल्लो समय यहुदीहरु आफ्नो पवित्र चाड मनाउन यहाँ आउने गरेका छन्। टेम्पल माउन्ट यस परिसरमा नै छ, जहाँ यहूदीहरूले प्रार्थना गर्छन्।

मोहम्मद डेफले इजरायल विरुद्ध हमासको आक्रमणको यो पहिलो कदम भएको बताएका छन्। हमासले वेस्ट बैंकमा बस्ने प्यालेस्टाइनीहरूलाई बिना डर इजरायलमा आक्रमण गर्न आग्रह गरेको छ। उसले जनतालाई उक्साएर सडकमा आउन र आक्रमण सुरु गर्न आग्रह गरेका छन्।

कस्तो छ नेपालीको अवस्था?
हाल नेपालबाट झन्डै ५ हजार जना इजरायल पुगेको अनुमान गरिएको छ। यसमध्ये अधिकांश केयरगिभरको काम गर्छन्। यस्तै अन्य रोजगारीका लागि त्यहाँ पुग्ने नेपालीको संख्या पनि उल्लेख्य छ। विद्यार्थीहरू पनि इजरायल पुग्ने गरेका छन्। राम्रो आम्दानी हुने भएकाले नेपालीका लागि इजरायल आकर्षक रोजगारीको गन्तव्य हो।

शनिबारको आक्रमणमा परी एक कृषि फार्ममा काम गर्ने ९ जना नेपाली घाइते भएको नेपालको पराराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। यसमध्ये दुई नेपालीको अवस्था गम्भीर छ।

आइतबार प्रतिनिधि सभामा बोल्दै परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा रहेका १२ नेपाली सम्पर्कविहीन भएको बताएका छन्। सुदूरपश्चिम विश्वविद्यालयबाट गएका विद्यार्थीहरू सम्पर्कविहीन भएको उनको भनाइ छ।

‘दक्षिणी इजरायलको किबुज अलुमिन भन्ने स्थानमा अध्ययनरत विद्यार्थीहरू सम्पर्कविहीन भएका छन्। राजदूतावासको अनुसार यो स्थान गाजा क्षेत्रबाट नजिक रहेका र त्यही हमास समूहबाट आक्रमण भएकाले १७ जना नेपालीहरूमध्येबाट २ जना सकुशल रहेको तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ,’ उनले भनेका छन्, ‘बाँकी १२ जना सम्पर्कमा नभएको र केही हताहत भएको हुँदा स्थिति यकिन गर्न संयन्त्र परिचालन गरिएको छ।’

इजरायलमा रहेका नेपालीहरूको वास्तविक स्थिति पहिचान गर्न, नेपालीहरूलाई सुरक्षित तवरले राख्न, उद्धार तथा सहयोग गर्नको लागि आवश्यक सहजीकरण र समन्वय भइरहेको उनले बताए।

हाल इजरायलमा ४ हजार ५ सय नेपाली केयर गिभरका रुपमा कार्यरत रहेको मन्त्री साउदले बताए। उनका अनुसार इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रममा २६५ (कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना) विद्यार्थी गएका छन्।

इजरायलमा शान्ति मिसनमा रहेका नेपाली सैनिक सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ। नेपाली सेनाका प्रवक्ता कृष्णबहादुर भण्डारीले इजरायल र लेवनानको सीमा क्षेत्रमा रहेका नेपाली शान्ति सैनिक भएको स्थानमा अहिलेसम्म कुनै अप्रिय घटना नभएको बताए। शान्ति मिसनमा ८७५ जना नेपाली सेना तैनाथ रहेका छन्।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्रीकै तहमा वार्ता गरी नेपालीहरूको उद्धार गर्न सुझाएको छ। आइतबार सदनमा विशेष समय लिएर बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले यस्तो सुझाव दिएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहालले त्यहाँका समकक्षी बेन्जामिन नेतान्याहूसँग तत्काल संवाद गर्नुपर्ने उनको भनाइ छ।

‘प्रधानमन्त्रीले त्यहाँका प्रधानमन्त्रीसँग फोन गर्नुपर्‍यो। हाम्रा नागरिकहरुको छिटो भन्दा छिटो उद्धार गर्न पर्‍यो,’ उनले भनेका थिए, ‘उनीहरूको जीवन रक्षा हुन पर्‍यो।’

प्रकाशित: २०८० असोज २१ गते आईतबार ०३:२५
प्रतिक्रिया

थप समाचार

विद्युत् व्यापार आशयपत्रको स्वागत गर्दै इप्पानले राख्यो चार माग

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना