पोखरा– अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को ३३ वर्षको इतिहासमा पोखराका २४ साहित्यकारलाई पहिलो पटक परिचय पत्र वितरण गरिएको छ।
अनेससा नेपाल च्याप्टरद्वारा आयोजित डायस्पोराको नेपाली साहित्य विषयक अन्तरक्रिया तथा अनेसासका आजीवन सदस्यहरुलाई प्रमाण पत्र र डिजिटल परिचय पत्र वितरण कार्यक्रम शनिबार पोखरामा सभएको छ।
शनिबार पोखरामा आयोजना गरिएको उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष गोवर्धन पूजा, महासचिव विमला निरौला, अनेसास नेपाल च्याप्टर अध्यक्ष राजेन्द्र केसी, पोर्चुगल च्याप्टरका सचिव गोमा रेग्मीले पोखरामा रहेका अनेसासका आजीवन सदस्यहरुलाई प्रमाणपत्र, परिचयपत्र, अनेसासको लोगो अङ्कित ब्याचवितरण गरेका छन्।
अनेसासले राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीको अवसरमा आयोजना गरेको कविता महोत्सवमा तृतीय स्थान हासिल गरेका पोखराका युवाकवि मदन घिमिरेलाई सम्मानपत्र र २०० डलर नगद राशिसहितको पुरस्कार वितरण शनिबारकै कार्यक्रममा गरेको छ।
अमेरिकाबाट छोटो बसाइका लागि नेपाल आएका अनेसासका केन्द्रीय अध्यक्ष तथा प्रमुख अतिथि गोवर्धन पूजाले प्रभावसमा रहेता पनि आफुहरुको मन हरदम स्वदेशमै रहेको बताए। उनले नेपाली भाषा, साहित्यको प्रवर्धनका लागि विश्वभर छरिएर रहेका साहित्यकारहरुलाई एकाकार बनाउँदै संरक्षण, संवर्धन र प्रवर्धनमा लागि रहेको बताए।
२५ वर्ष अगाडी पोखरामा आउँदाको साहित्यको लगाव र २५ वर्षपछि आउँदा पनि अझ बढी सुसंस्कृत भएको पाएको बताए। जीवनमा सम्मान पाउनु भनेको अहोभाग्य हो। उनले भने, यस्तो ममतामयी सम्मान जहिलेतहिले पाइन्न। हामीले प्रवासमा बसेर गरेको कर्म र त्यहाँबाट स्वेदशको साहित्यलाई जोड्ने कुरा सजिलो नभएको बताए। तैपनि आफ्नो भाषा, साहित्यको लागि लागिरहने हाम्रो प्रण छ,’ उनले भने।
अधिकार बिनै पोखरालाई नामको मात्र समिति गठन गर्दा विरोध गरेकै कारण अधिकारसम्पन्न समिति गठन हुन सफल भएको, हाल गण्डकीको समितिले पनि केन्द्रिय सदस्य हुन पाउने अधिकार प्रदान गरेको, आगामी दिनमा पनि साथ र सहयोग गर्ने बताए।
अनेसास महासचिव विमला निरौलाले विश्भर छरिएर रहेका साहित्यकारहरुलाई एउटै मञ्चमा ल्याउने र साहित्यको उन्नयनको काम गरिरहेको बताइन्। ‘हामीलाई सरसल्लाह दिनु कसरी अगाडी बढ्नुपर्छ। त्यहाँ बसेर पनि हाम्रा स्रष्टाले विभिन्न पुस्तकहरु प्रकाशन गरिरहनु भएको छ। पोखरामा हामीलाई गहिरो माया दिएको कुरा आजीवन सदस्य सङ्ख्याले प्रष्ट भएको छ। आखिर जीवनमा पाउनु भनेको यही नै त रहेछ,’ उनले भनिन्।
अनेसास नेपाल च्याप्टरमा अध्यक्ष राजेन्द्र केसीले अनेसासले साहित्यकै क्षेत्रमा काम गरिरहेको बताए। संस्थाले साहित्यकारहरुको खोजी, सम्मान, एकाकार गराउने र देशको भाषा, साहित्यलाई टेवा पुर्याउने काम गरिरहेको छ।
कार्यक्रममा बद्रिविनोद प्रतीक, लिली अधिकारी, देवेन्द्र केसी देवु, दुर्गा न्यौपाने, डिल्लीराम ढुङ्गाना, मदन घिमिरे, भिम रानाभाट लगायत सष्टाले आफ्ना प्रस्तुति राखेका थिए।
अनेसास नेपाल च्याप्टर अध्यक्ष राजेन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अनेसास नेपाल च्याप्टर सदस्य आकाश अधिकारीले गरेका थिए।
