काठमाडौं – नेकपा एमालेले कम्तीमा १० जना सांसद लिएर आए कांग्रेस वा माओवादी केन्द्र जुनसुकै दलका सांसदलाई मुख्यमन्त्रीमा समर्थन गर्ने रणनीति लिएको छ।
पटक-पटक विश्वासको मत नपाएकाले मुख्यमन्त्रीमा आफूले दाबी नगर्ने संसदीय दलका नेता हिक्मत कार्कीले बताइरहेका छन्। संविधानको धारा १६८ को उपधारा (५) अन्तर्गत कोसीमा सरकार गठनको आह्वान भएको दुई दिन बितेको छ।
अब चार दिनभित्रमा प्रदेशसभामाको बहुमत सदस्य (कम्तीमा ४७) सांसदको समर्थन भएको कुनै पनि सांसद मुख्यमन्त्री नभए प्रदेशसभा विघटन हुने छ।
प्रदेशसभा विघटन हुन नदिन उक्त विकल्पमा एमाले पुगेको एक नेताले बताए।
उपधारा (५) अन्तर्गत कुनै पनि पार्टीको सांसद मुख्यमन्त्री बन्न सक्छन्। त्यसमा पार्टीको ह्वीप पनि नलाग्ने भएकाले एमालेले कांग्रेस वा माओवादी दुबैलाई विकल्प खुला राखिदिएको हो।
‘कतिपय साथीहरू म सँग सांसद संख्या छ भनेर एमालेकहाँ आइरहनुभएको छ,’ ती नेताले भने, ‘तर, कम्तीमा विश्वासको मत पाउने गरी संख्या लिएर आएको स्थिति छैन।’
कांग्रेस वा माओवादी पार्टीका सांसदलाई समर्थन गर्नुपर्ने अवस्थामा एमाले तयार रहेको छ। उसले यसका लागि एमालेलाई सत्ताभित्र राखे वा बाहिर दुबै विकल्पमा तयार हुने जनाउ दिएको छ।
कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई पुन: मुख्यमन्त्रीमा दोहोर्याउन कांग्रेसका सांसद नै तयार नदेखिएकाले उनको विकल्प खोजी भइरहेको छ।
थापाको विकल्पमा कांग्रेसका केदार कार्की, अमृत अर्याल, भीम पराजुलीले ‘लबिङ’ गरिरहेका छन्। यस्तै, माओवादीमा इन्द्रबहादुर आङ्बो र दुर्गा चापागाईं ‘लबिङ’मा छन्।
एमाले सांसद लीलाबल्लभ अधिकारीले मध्यावधि निर्वाचनमा जान नदिन एमाले जस्तोसुकै त्याग गर्न तयार रहेको बताउँछन्।
‘एमाले प्रष्ट छ, मध्यावधिमा जान नदिन अर्को पार्टीको सांसदलाई मुख्यमन्त्री बनाउन तयार छ,’ उनले भने, ‘अहिले संघीयता खारेजीको माग उठिरहेका बेला प्रदेशसभा जोगाऔं भन्ने पक्षमा हामी छौं।’
मध्यावधिमा जाँदा सन्देश राम्रो नजाने र आर्थिक क्षति पनि व्यहोर्नुपर्ने भएकाले एमाले त्यो पक्षमा नरहेको उनले बताए।
राप्रपाले भने अहिलेसम्म मुख्यमन्त्रीमा दाबी गरिसकेको छैन।
माओवादी केन्द्रका सांसद गणेश उप्रेती माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई अगाडि सारेर मुख्यमन्त्रीमा दाबी गरिने बताउँछन्।
उनले यसबारे कांग्रेस, एकीकृत समाजवादी र राप्रपासँग सार्थक छलफल भइरहेको बताए।
‘कांग्रेसलाई हामीले पहिले सघाएको हो, अब हामीलाई सघाउनुपर्छ, प्रदेशसभा जोगाउने हो भने राप्रपाले पनि हामीलाई सहयोग गर्नुपर्छ,’ उनले भने, ‘यस विषयमा छलफल भइरहेको छ।’
उप्रेतीले केन्द्रमा भएको गठबन्धनकै ‘स्पिरिट’मा कोसी प्रदेश जानुपर्छ भन्ने आफूहरूको मान्यता रहेको बाए।
कांग्रेसको रणनीति भने के हो स्पष्ट छैन। कांग्रेस एमालेसँग मिलेर सरकारमा जाने कसरतमा रहेको बुझिन्छ।
संघीयताको विपक्षमा रहेको राप्रपाले समर्थन नगरेसम्म गठबन्धन दलहरूको सरकार बन्ने सम्भावना देखिन्न।
९३ जना सांसद रहेको कोसीमा नेकपा एमालेको ३९ सिट छ। बहुमत संख्या (४७) पुर्याउन आठ जना सांसद आवश्यक पर्छ।


