काठमाडौँ- पूर्व–पश्चिम जोड्ने देशको चौँथो राजमार्गका रूपमा मदन भण्डारी राजमार्ग आयोजनाअन्तर्गत १०८ पुल निर्माण भएका छन्।
१८५ पुल निर्माण गर्नुपर्नेमा आधाभन्दा धेरै पुल निर्माण भएर सञ्चालनमा आएको उक्त आयोजनाको निर्देशनालयले जनाएको छ।
हाल निर्माणको क्रममा ४५ पुल रहेको निर्देशनालयका सूचना अधिकारी (इञ्जिनियर) शिव तिमल्सिनाले जानकारी दिए।
‘आयोजनाका सबै पुल डिजाइन बिल्डबाट निर्माण भइरहेको छ। डिजाइन भएका पुल सबै निर्माण भइसकेका छन्,’ उनले भने।
आयोजनाका अनुसार निर्माण गर्न बाँकीमध्ये एउटा ठूलो पुल छ। कणार्ली नदीमा बन्ने यो पुल अन्य पुलका तुलनामा ठूलो हो। यो आयोजनामा अधिकांश साना पुल रहेका छन्।
आयोजनाको हालसम्मको समग्र प्रगतिमा ४५ प्रतिशत छ। पुल निर्माणको प्रगति सडकभन्दा बढी छ। पुल निर्माणको प्रगति ५८ प्रतिशत रहेको तिमल्सिना बताउँछन्।
वार्षिक बजेट विनियोजन न्यून भएको र सडकसँगै पुल निर्माणका लागि समस्याका रुपमा रहेको सूचना अधिकारी तिमल्सिनाले बताए।
हरेक वर्ष सुरुमा विनियोजनभन्दा दोब्बर–तेब्बर खर्च भइरहेको उनको भनाइ थियो।
‘खर्च बढी भइरहे पनि सुरु विनियोजन बढ्न सकेको छैन,’ सूचना अधिकारी तिमल्सिनाको भनाइ छ।
बजेट नभएका कारण टेन्डर आह्वान गर्न पनि सुरुमा अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चितताका लागि सहमति लिनुपर्ने बाध्यता रहेको उनले सुनाए।
‘जतिजति सुनिश्चितता भयो त्यतित्यति काम भइरहेको छ। बाँकी पुल निर्माणका लागि पनि यसै वर्ष नै टेण्डर आह्वान हुने स्थिति देखिएको छैन,’ उनी भन्छन्।
बजेट विनियोजन कम हुनु र थप बजेटका लागि पनि अहिले देशको आर्थिक अवस्थाका कारण ढुक्क हुने अवस्था नदेखिएकाले टेन्डर नहुने उनको भनाइ छ।
गत आवमा दस पुल निर्माण गर्ने लक्ष्य लिइएकामा १४ पुल पूरा भएको थियो।
दमकस्थित योजना कार्यालयले ६, हेटौँडास्थित कार्यालयले ५ र गाईघाटस्थित कार्यालयले ३ पुल निर्माण गरेका थिए।



