काठमाडौं- राजधानी काठमाडौंको नयाँ बानेश्वरनजिकै एक युवकको शव फेला परेको छ।
बुधबार बिहान सवा ६ बजे काठमाडौं-३१ बानेश्वर तरकारी बजारअगाडि बागमती खोलामा युवकको शव फेला परेको हो।
मृतक बालाजु गोलढुंगा स्थायी घर भई हाल काठमाडौं-१० शंखमुल बस्ने २० वर्षीय विकास महराको भएको प्रहरीले जनाएको छ।
महराको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुंगेलले बताए।
शव उनकी आमाले सनाखत गरेकी थिइन्। मृतक महराको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ।
मृत्युको स्पष्ट कारण खुलेको छैन। घटनास्थलबाट केही सिरिञ्जहरू प्रहरीले बरामद गरेको छ।
