काठमाडौँ- मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएसँगै कोशी प्रदेशको सत्ता राजनीति फेरि एकपटक गर्माएको छ।
विगत ५ महिनायता कोशी प्रदेशमा सत्ता बनाउने र लडाउने राजनीतिको खेल जारी छ।
जेठ २३ गते माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि कार्की अल्पमतमा परेका थिए। त्यसयता कांग्रेसका उद्धव थापा २ पटक मुख्ममन्त्री नियुक्त भइसकेका छन्।
कहिले सभामुखको हस्ताक्षरसहित मुख्यमन्त्री दावी गरेका कारणले त कहिले सभाध्यक्षसहितको मतसहित बहुमतसिद्ध गराउने अवैधानिक प्रयासका कारणले उनको पद सर्वोच्च अदालतले खारेज गरिदियो।
पछिल्लो पटक थापाको पद खोस्दै अदालतले कार्कीलाई नै मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो। तर कार्कीले प्रदेशसभामा विश्वासको मतसिद्ध गर्न नसक्ने भएपछि राजीनामा दिएका छन्। यस्तो अवस्थामा कोशी प्रदेशको सत्ता राजनीतिको खेल रोचक बन्दै गएको छ।
खासगरी सत्ता गठबन्धनमा कोशी प्रदेशको सत्ता राजनीतिको खेलले रोचक मोड लिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड वर्तमान गठबन्धन जोगाउन कोशीको मुख्यमन्त्री कांग्रेसलाई सुम्पिन तयार देखिन्छन्।
यसअघि कांग्रेसका थापाले २/२ पटक पद जोगाउन नसकेपछि यसपटक शेखर कोइराला पक्षलाई मुख्यमन्त्री दिने कुरामा प्रचण्ड सकारात्मक देखिन्छन्।
शेखर समूहले कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्कीलाई अघि सार्ने तयारी गरेको छ।
सोमबार बिहान यस विषयमा बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, कोइराला र डा मीनेन्द्र रिजालबीच भएको छलफल भएको थियो। छलफलमा सहभागी एक नेताका अनुसार गठबन्धन जोगाउने कस्टमा प्रचण्ड कार्कीलाई मुख्यमन्त्री मान्न तयार देखिन्छन्।
यसअघि कांग्रेसका थापाले २/२ पटक पद जोगाउन नसकेपछि यसपटक शेखर कोइराला पक्षलाई मुख्यमन्त्री दिने कुरामा प्रचण्ड सकारात्मक देखिन्छन्।
माओवादी सांसद् (यसअघिका सभामुख) बाबुराम गौतमले प्रचण्डलाई भेटेर मुख्यमन्त्री मागेका थिए। तर, प्रचण्डले उनलाई मुख्यमन्त्री बनाउने वचन दिएनन्। बरु गठबन्धन जोगाउन शेखर समूहलाई मुख्यमन्त्री दिन सकिने संकेत गरेका थिए।
तर, प्रचण्डले मात्रै मानेर कार्की मुख्यमन्त्री हुने स्थिति भने छैन। कांग्रेसको आन्तरिक शक्ति संघर्षको चेपुवामा कार्की परेका छन्।
पूर्वमुख्मन्त्री थापा नेता कृष्णप्रसाद सिटौला निकट हुन्। त्यसकारण सिटौला कुनै पनि हालतमा कार्कीलाई मुख्यमन्त्री बन्न नदिने दाउमा छन्। सिटौलाको दबावका कारण देउवा कार्कीलाई मुख्यमन्त्री बनाउन तयार नदेखिएको निकट स्रोतको दाबी छ।
मंगलबार देउवा र कोइरालाबीच भेट भएको थियो। तर देउवा शेखरको कुरा सुन्न तयार नभएको स्रोत बताउँछ। कार्कीको नाम सुन्नै नचाहेका देउवाले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माबारे पनि बोलेका थिए।
‘हुँदैन यार। महामन्त्रीहरु पनि केदारलाई मुख्यमन्त्री मान्न तयार छैनन्। के गर्ने?,’ देउवाको भनाइ उद्धत गर्दै स्रोतले भन्यो।
महामन्त्री शर्माको प्रदेश भएकाले अर्का महामन्त्री गगन थापा यो विषयमा खुलेका छैनन्। यद्यपि महामन्त्रीद्वयले आलोपालोको नाममा पहिले माओवादीलाई मुख्यमन्त्री दिन सकारात्मक रहेको संकेत गरेका छन्।
बुहमतसिद्ध गर्न सरकार जोगाउन दुई पटक असफल भइसकेका थापाले पुनः मुख्यमन्त्री बनेर बहुमत पाउने सम्भावना क्षीण रहेको कोशी प्रदेशका कांग्रेस सांसदहरुकै बुझाइ छ।
‘उहाँले २ पटक अवसर पनि पाउनुभएको हो। तर दुवै पटक कमजोरी भए। त्यसकारण उहाँको पद त गयो नै पार्टीको शाख पनि गिर्यो। त्यसकारण तेस्रो पटकमा उहाँले पार लाउनुहुन्छ भन्ने मलाई लाग्दैन,’ एक सांसदले भने।
यस्तो स्थितीमा के हुन सक्छ? भन्ने प्रश्नमा उनको जवाफ छ–गठबन्धनले निर्णय नलिए एमाले र राप्रपाको समर्थन जुटाएर कार्की मुख्यमन्त्री हुने सम्भावना जीवित छ।
नेपालको संविधानको धारा १६८ मा प्रदेश सरकार गठन सम्बन्धी व्यवस्था छ। संविधानअनुसार अब सरकार बन्न सक्ने सम्भावना एउटा मात्र संभावना बाँकी छ। यसपछि उपधारा २ र ३ अनुसार गठन भएका सरकारले उपधारा ४ अनुसार विश्वासको मत कायम राख्न/जुटाउन नसकेपछि हिक्मत कार्की र कांग्रेसका थापा नेतृत्वमा गठन भएका सरकार ढलिसकेका छन्।
उक्त धाराको उपधारा ५ अनुसार अब प्रदेशसभा बहुमत सिद्ध गर्न सक्ने आधार प्रस्तुत गर्न सक्ने सांसदलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नेछन्। यो उपधारा अनुसार सरकार बनाउन दाबी प्रस्तुत गर्न प्रदेश प्रमुख परशुराम खापुङले असोज २६ गतेसम्मको समय दिएका छन्।
यसरी उपधारा ५ अनुसार बनेको सरकारले पनि ३० दिनभित्र विश्वासको मत जुटाउन नसकेको अवस्थामा प्रदेशसभा भंग भएर नयाँ निर्वाचनमा जानुपर्ने अवस्था सिर्जना हुनेछ। त्यसैले यसपालि बहुमतसिद्ध गर्न सक्ने व्यक्तिलाई मुख्यमन्त्री बनाउनुपर्ने दबाबमा कांग्रेस-माओवादी गठबन्धन र एमालेलगायतका दल छन्।
