काठमाडौं– सँगै काम गर्ने साथीलाई पेट्रोल छर्केर आगो लगाएको घटनामा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पर्सा सोवर्णपुर गाउँफालिका-६ घर भई हाल ललितपुर महानगरपालिका-१७ ग्वार्के बस्ने २६ वर्षीय सुवास विक छन्।
विक ग्वार्कोस्थित एसबी ह्याण्ड ग्राफीमा काम गर्थे। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सुन्धाराबाट पक्राउ गरेको हो।
विकले त्यहीँ काम गर्ने २४ वर्षीय अरुण विश्वकर्मालाई असोज २२ गते दिउँसो पेट्रोल छर्केर आगो लगाएका थिए।
अरूणको अहिले कीर्तिपुरस्थित बर्निङ अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार आगो फैलिँदा अन्य दुई जनासमेत घाइते भएका छन्। उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको छ।
पक्राउ परेका विकलाई थप अनुसन्धान तथा कारबाहीको लागि वृत्त सातदोबाटो पठाइएको छ।
