काठमाडौँ- नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुलप्रसाद बाँस्कोटाले मंसिर ४ गते भएको निर्वाचनलाई भदौरे भेलको संज्ञा दिएका छन्। उपनिर्वाचन हुने तीनै क्षेत्रमा एमाले विजयी हुने दाबी गर्दै उनले मंसिर ४ मा सम्पन्न निर्वाचनलाई भदौरे भेलको संज्ञा दिएका हुन्।
एमालेले सञ्चालन गरिरहेको अभियान ‘मिसन ग्रासरूट’का लागि चितवनको कमाण्ड सम्हालिरहेका बाँस्कोटाले चितवन पुगेर यस्तो बताएका हुन्। उनले अघिल्लो पटक एमालेलाई भोट नहालेका मतदाताले पनि यसपालि हाल्ने निश्चित रहेको दाबी गरे।
‘भदौरे बाढीले ल्याएको लेदो जति सफा भएर नारायणी कञ्चन भएको छ। चितवनमा वैशाखे पालुवा पलाउन थालेका छन्, चैते हुरीको कुनै काम छैन। उम्मेदवारी दर्ता भयो। हामी जनताको मन, मस्तिष्क र मुटुमा बस्छौं,’ चितवन–२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न पार्टीका उम्मेदवार रामप्रसाद न्यौपानेसँग मुख्य निर्वाचन अधिकृतको कार्यालयअघि पुगेका उनले भने, ‘हार्ट क्यास, ब्रेन वास गर्ने हो, जनता कसैको मुठ्ठीभित्रको बन्धक होइन, एकचोटी झुक्किन्छन् धेरै झुक्किदैनन्। अघिल्लो पटक घण्टीमा भोट हाल्नेहरुले यसपटक शंख फुकेर सूर्यको आरती गर्छन्।’


