बेल्जियमका स्टार खेलाडी इडेन हाजार्डको सन्यास घोषणालाई लिएर अहिले फुटबलवृत तातेको छ। गत जुनमा रियल मड्रिड रियल मड्रिडले रिलिज गरेपछि फ्रि एजेन्टमा रहेका हाजार्डले मंगलबार सन्यास घोषणा गरे। पछिल्ला केही सिजन चोटले थलिएका हाजार्डले ३२ वर्षको उमेरमै खेलाडी जीवन त्याग्ने घोषणा गरेका हुन्।
सन् २०१९ को जुनमा हाजार्ड इंग्लिस क्लब चेल्सीबाट स्पेनिस क्लब रियल मड्रिडमा आएका थिए। उनी सेन्टियागो वर्नवेउमा जादु छरेर यूरोपका महान मध्यका एक खेलाडी बन्न चाहन्थे। किनकि हाजार्ड लस ब्लांकोसमा भित्रिएको एक वर्ष अघि मात्रै क्रिटियानो रोनाल्डोले टुरिनको यात्रा तय गरेका थिए। त्यो बेला ग्यारेथ वेल फिटनेसको समस्याबाट गुज्रिरहेका थिए। भिनिसियस जुनियर स्थापित भइसकेका थिएनन्। सोही कारण हाजार्ड भविष्यमा मड्रिडका नम्बर वान विंगर बन्ने अपेक्षा राखिएको थिए। त्यो बेला उनको उमेर केवल २८ वर्ष थियो।
यो चार वर्षको अवधिमा हाजार्डले रियल मड्रिडको जर्सी मात्रै छाडेनन्, खेलाडी जीवनमै पूर्णविराम लगाएका छन्। स्पेनमा कदम राखेदेखि नै निरन्तर चोटसँग जुधेका उनले रियलका लागि केवल सात गोल गरे अनि १२ असिस्ट प्रदान गरे। उनले यो अवधिमा मात्र ७६ खेल खेले। स्टामफोर्ड ब्रिजमा उत्कृष्ट फुटबल खेलेका उनले वर्नवेउमा भने लय कायम राख्न सकेनन्।
उनले रियलमा समयप्रतिको इमान्दारिता देखाएनन्। आफ्नै ख्याल राख्न सकेनन्। उनले रियलका समर्थकको आक्रोश झेलिरहन पर्यो। सँगै गोलीगाँठाको चोटबाट पटक-पटक शिकार बनिरहन पर्यो।
आधा दशक भन्दा लामो समयसम्म चेल्सीका पोस्टर व्वाइ रहेका उनी रियलमा भने आफ्नो प्रभाव छाड्न सकेनन्। जबकी रियलले उनलाई १०० मिलियन यूरो तिरेर भित्र्याएका थियो। उनको तलब प्रतिसाता ६ लाख यूरो थियो। रियल आएपछि उनको तौल बढ्यो। जसका कारण सामाजिक सञ्जालमा उनका थुप्रै ट्रोल बने। आलोचकहरुका लागि उनको तौल मसला बन्न पुग्यो। तिव्र आलोचना हुन थालेपछि उनले भनेका थिए, ‘मेरो तौल जति हुनपर्ने हो, त्यो भन्दा ५ केजी बढेको छ। मेरो वजन बढ्ने र घट्ने भइरहन्छ। खासगरी प्रि-सिजनको समयमा।’
रियलमा उनको सुरुवात ठिक ठाक रहन सकेन। सन् २०१९ अक्टोबरमा उनले रियलका लागि डेब्यू गरेका थिए। उनले एइबार र रियल सोसिडाड विरुद्ध खेले। तर उनले न गोल गर्न सके न त असिस्ट नै। चेल्सीमा जस्तो शानदार ड्रिबल, सटिक पास र गोल गर्ने हाजार्डको अपेक्षा राखेका रियलका समर्थकलाई धक्का लाग्न पुग्यो। सन् २०१९ को नोभेम्बरमा उनले च्याम्पियन्स लगिमा पिएसजीका थोमर मुनियरको ट्याकलका कारण चोट बोक्न पुगे। जुन चोटले उनलाई पिच बाहिरको बाटो देखाइदियो। यो चोट पटक-पटक बल्झिएपछि सन् २०२० को मार्चमा उनको सर्जरी गरिएको थियो। कोरोना भाइरसको महामारीका कारण उनले धेरै खेल त गुमाएनन्, तर उनको पुनरागमन सहज हुन सकेन।

सन् २०२१ को जनवरीमा उनले मैदानमा पुनरागमन गरे। उनी रियलमा आफ्नो छाप छाड्न तयार देखिएका थिए। स्पेनिस सुपरकपको सेमिफाइलनमा एथ्लेटिक बिल्बाओ विरुद्ध सुरुवाती ११ मा परेर मैदानमा देखिएका थिए। तर उनले पुरै खेल खेल्न पाएनन्। दोस्रो हाफमा उनलाई भिनिसियस जुनियरले प्रतिस्थापन गरे। भिनिसियस निकै राम्रो फर्ममा थिए। सोही कारण सुरुवाती ११ मा हाजार्डको स्थानमा भिनिसियसले कब्जा जमाए।
रियलमा खराब स्थितीबाट गुज्रिरहेका हाजार्ड मानसिकरुपमा भने कमजोर बनेका थिएनन्। उनले सन् २०२१ को फेब्रुअरीमा भनेका थिए, ‘म कम्तीमा अब ५/६ सिजन खेल्नेछु।’ तर चोटलाई पुरै जित्न मुस्किल परिरहेको थियो। एक फ्याक्चर ठिक गर्नका लागि उनको खुट्टामा स्टिल हालिएको थियो। त्यो स्टिल उनका लागि अर्को समस्याकारुपमा देखिन थाल्यो। बेल्जियमको राष्ट्रिय टोलीका डाक्टरले हाजार्डलाई अर्को अप्रेसन गर्न सल्लाह दिएका थिए। जसको पुष्टि स्वयं हाजार्डले गरेका थिए। तर स्पेनिस पत्रिका मार्काका अनुसार रियलले पनि हाजार्डलाई यही सुझाव दिएको थियो। तर उनले यो सुझाव मानेनन्।
सन् २०२१ को मे मा चेल्सी विरुद्ध खेल्नु अघि हाजार्डले आफ्ना पुराना साथीहरु विरुद्ध खेल्न मुस्किल हुने बताएका थिए। हाजार्डलाई स्टामफोर्ड ब्रिजमा समर्थकहरुले खुबै माया दर्शाएका थिए। चेल्सी विरुद्धको खेलपछि उनी चेल्सीका केही खेलाडीसँग हाँस्दै सेल्फी खिचाए। जसले रियलका समर्थक र रियल निकट मिडियाको आवेग थप बढाइदियो। उनी माथि थप निसाना साँधियो। बर्नवेउमा निराशाजनक समय विताइरहेका हाजार्ड राष्ट्रिय टिममा फर्किए। सन् २०२१ को मेमा भएको यूरोपकपमा हाजार्ड फिटनेस माथि शंका उब्जिएको थियो। तर प्रशिक्षक रोबर्टो मार्टिनेजले उनलाई टिममा बोलाए। त्यो टिममा केभिन डि ब्रने पनि समावेश थिए। उनीहरुलाई बेल्जियम फुटबलको ‘स्वर्णिम पुस्ता’ मानिन्थ्यो।
सोही वर्षको जुनमा हाजार्डले अर्को चोट व्यहोर्न पुगे। बेल्जियम यूरो विजेता इटालीसँग क्वार्टर फाइनलमै पराजित हुन पुग्यो। हाजार्ड हुनु र नहुनुले बेल्जियमलाई खासै फरक परेको थिएन। किनकी उनले १८ महिनासम्म नियमित फुटबल खेलेका थिएनन्। तर पनि उनीसँग आफूलाई प्रमाणित गर्ने अवसर भने थियो।
सन् २०२१ को जुलाईमा रियल मड्रिडसँग पिएसजीका केलियन एमबाप्पेको नाम जोडिएको थियो। एमबाप्पे भित्र्याउन रियलले हाजार्ड बेच्ने योजना बनाएको थियो। तर हाजार्डलाई किन्न कुनै क्बल तयार भएनन्, न त एमबाप्पे नै रियल आए। सन् २०२१ को अगस्टमा कार्लो एन्सोलोटीले रियलको टिम सम्हाले। एन्सोलोटीले सुरुवातमा हाजार्डलाई मौका दिने निर्णय लिए। हाजार्डलाई मौका दिन उनले सुरुवाती केही सातासम्म भिनिसियसलाई लाइनअप बाहिर राखे। तर, जब एन्सोलोटीले भिनिसियसलाई सुरुवाती ११ मा राख्न थाले उनले आफ्नो उत्कृष्ट फर्ममा खेल्न थाले। जसले हाजार्डलाई लाइनअप भन्दा बाहिर धकेल्यो। भिनिसियर र करिम बेन्जिमाको जोडी खुब जम्न थाल्यो। घरेलु लिग र च्याम्पिन्स लिगमा रियलले सहजै जित निकाल्न थाल्यो। यस्तो अवस्थामा एन्सोलोटीले सोही वर्षको अगस्टमा हाजार्डले क्लब छाड्न चाहे आफूले स्वागत गर्ने बताएका थिए। तर चोटले थलिएका हाजार्डका लागि रियल छोड्न सहज थिएन। सन् २०२२को मार्चमा उनको अर्को सर्जरी भयो।
सन् २०२१ को मार्च देखि उनलाई खुट्टामा राखिएको स्टिल हटाउन सुझाव दिइएको थियो। अन्ततः एक वर्षपछि उनको खुट्टामा राखिएको स्टिल हटाइयो। त्यही सर्जरीले उनलाई प्रभावशालीरुपमा फुटबल खेल्ने सम्भावनालाई समाप्त गरिदियो।

तर पनि उनी च्याम्पियन्स लिगको फाइनल खेलमा उनले मुस्किलले बेच्नमा स्थान बनाए। सन् २०२२ को मेमा भएको लिभरपुल विरुद्धको फाइनलमा उनी बेन्चमा थिए। भिनिसियस सुरुवाती ११ मा पर्ने नै भए। रियलले लिभरपुललाई १-० गोलले हराउँदै च्याम्पिन्स लिग जित्यो। हाजार्डले पनि विजेताकारुपमा पदक प्राप्त गरे। सन् २०२२ को नोभेम्बरमा स्पेनिस राजधानीमा हाजार्डले क्लब छाड्ने हल्ला फैलिन थाल्यो। त्यसको केही समयपछि हाजार्डले क्लब छाड्ने बेला आएको स्विकार गरे। अमेरिकन सकर लिगका क्लबहरु उनलाई अनुबन्ध गर्न इच्छुक थिए। त्यसकारण पनि हाजार्डले क्लब छाड्ने सम्भावना बढ्दो थिए।
जनवरी ट्रान्सफर विन्डोमा उनले क्लब छाडेनन्। यद्यपी त्यो समयमा उनी प्रिमियर लिगमा पुनरागमन गर्ने चर्चा पनि थियो। तर त्यो सफल भने हुन सकेन। सन् २०२३ को अप्रिलमा रियल भालोडालिड विरुद्धको खेलमा बेन्चबाट आएर उनले टिमको जितमा सहयोग गरे। उनले एक असिस्ट गरेका थिए।
उनी फेरी सन् २०२३ को मे मा लाइनअपमा पुनगरामन गरे। भालोडालिड विरुद्धको उत्कृष्ट प्रर्दशन गरेको महिना दिन पछि उनले टिममा स्थान बनाएका थिए। एन्सोलोटिले गेटाफे विरुद्ध खेल्ने टिममा उनलाई समावेश गरेका थिए। च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी विरुद्ध खेल्न पहिलो रोजाइका खेलाडीलाई आराम गर्न उनले यो विक्लप रोजेका थिए। रियलले १-० को जित हात पारेको खेलमा हाजार्डको प्रदर्शन औसत थियो।
सन् २०२३ को जुनमा उनले अन्ततः रियल छाड्ने निश्चित भयो। क्लब र उनीबीचको आपासी सहमतिमै उनले रियल छाड्ने पक्का भयो। रियल छाडेपछि ट्रान्सफर विन्डो खुलारहुनजेल उनी बारे अनेक हल्ला चल्न थाले। उनी एमएलएस देखि साउदी प्रो लिग र यूरोपका अन्य टिमममा जान सक्ने अड्कल काटिए। तर, उनी कतै अनुबन्ध भएनन्। बरु १० अक्टोबरमा उनले सन्यास लिने घोषणा गरिदिए। उनले आफ्नो ३३औं जन्मदिनको ठिक ३ दिन पहिला सन्यास घोषणा गरेका छन्। उनले सन्यास लिँदै भनेका छन्, ‘आफ्नो कुरा आफैंले सुन्नुपर्छ। अनि सही समयमा रोकिनुपर्छ। ‘ उमेरका हिसाबले हेर्ने हो भने हाजार्डका लागि सन्यासले यो सही समय थिएन। तर उनको शरिर र फिटनेशको कुरा बेग्लै थियो। जे होस्, हाजार्डको सम्भावित महान करियर समय भन्दा पहिला नै अन्त्य भइदियो।
गोल डटकमबाट


