काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिगको डिफेन्डिङ च्याम्पियन मछिन्द्र फुटबल क्लबले भुटानी राष्ट्रिय फुटबल टिमका कप्तान तथा स्ट्राइकर चेन्चो ग्याल्सेनलाई अनुबन्ध गरेको छ। मछिन्द्रले सोमबार पत्रकार सम्मेलन गर्दै भुटानी रोनाल्डो नामले चर्चित चेन्चोलाई क्लबमा अनुबन्ध गरिएको जानकारी दिएको हो।
थ्री नेसन्स कप खेल्न नेपाल आएका चेन्चोलाई मछिन्द्रले अनुबन्धन गरेपछि अभ्यास सुरु गरिसकेका छन्। कप सकिएको तीन दिनपछि मछिन्द्रका अध्यक्ष सुनील कपाली र चेन्चोले अनुबन्धको सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
क्लबमा आउनुअघि नै मछिन्द्रले लिगका ६ खेल खेलिसकेको छ। तर उसले राम्रो प्रदर्शन गर्न सकेको छैन। अहिले क्लब ५ खेलबाट ५ अंकका साथ ११औँ स्थानमा रहेको छ।
लिगको छैटौं चरणमा चेन्चो मछिन्द्रको जर्सीमा देखिने भएका छन्। यसअघि उनले नेपाली खेलाडी किरणकुमार लिम्बूसँग भारतको आईलिग पनि खेलेका थिए। त्यहाँ उनले १२ खेलबाट तीन गोल गरेका छन्। उनको क्लब पन्जाब लिगको उपाधि जित्दै सुपर लिगमा उक्लिएको थियो।
पछिल्लो सिजनमा मछिन्द्रबाट उत्कृष्ट प्रदर्शन गरेका मनिष डाँगी, रन्जित धिमाल, अभिषेक रिजाल, सुजल श्रेष्ठलगायतका उत्कृष्ट खेलाडीले क्लब छोडिसकेका छन्।
उसले अहिलेसम्म एकमात्र जित निकालेको छ।
