काठमाडौँ- निर्वाचन आयोगले उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध उजुरी दिन सकिने बताएको छ। चितवन–२, बारा–२ र तनहुँ–१ मा हुने उपनिर्वाचनका लागि आयोगले सोमबार उम्मेदवारी दर्ता गराइसकेकाले उनीहरूका विरुद्ध उजुरी गर्न सकिने जानकारी दिएको हो। उजुरी परे २२ गते छानबिन गरिनेछ।
चैत २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समयमा उम्मेदवारी फिर्ता लिन सकिने पनि आयोगले जनाएको छ। २३ गते नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी र चुनाव चिह्न वितरण गर्ने कार्यक्रम आयोगले तय गरेको छ।
सोमबार तनहुँ-१, चितवन-२ र बारा-२ मा ६९ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ। कांग्रेसबाट प्रतिनिधि सभामा विजयी रामचन्द्र पौडल राष्ट्रपतिमा निर्वाचित भएर राजीनामा दिएपछि तनहुँ–१ मा हुन लागेको उपनिर्वाचनका लागि ९ दलका ९ जनाले मनोनयन दर्ता गराएका छन्। नेपाली कांग्रेसका तर्फबाट गोविन्द भट्टराई, नेकपा एमालेका तर्फबाट सर्वेन्द्र खनाल तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेले मनोनयन दर्ता गरेका छन्।
राप्रपाको तर्फबाट केन्द्रीय सदस्य शोभा गुरुङ, नागरिक उन्मुक्ति पार्टीको तर्फबाट भीमबहादुर सुनार, राष्टिय जनमुक्तिको तर्फबाट पूर्णबहादुर राना, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, नेपाल कम्युनिस्ट पार्टी समाजवादीबाट गणेश श्रेष्ठ, मंगोल नेसनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापाले मनोनयन दर्ता गरेका छन्।
क्षेत्रका ४२ वडामा ६९ मतदानस्थल र १५२ मतदान केन्द्र छन्। यहाँ १ लाख २३ हजार ३ सय ५ मतदाता छन्। यसअघिको निर्वाचनमा ६६ हजार ९ सय ६५ मत खसेकामा पौडेल २५ हजार ३ सय ६१ मत प्राप्त गरी विजयी बनेका थिए। एमालेका एकबहादुर रानाले १९ हजार ९ सय ८१ मत प्राप्त गरी उपविजेता बनेका थिए।
सोमबार चितवन-२ मा २४ जनाको उम्मेदवारी परेको छ। १२ जनाले दलका दर्फबाट र १२ जनाले स्वतन्त्र उमेदवारी दिएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ।
नेकपा (एमाले)बाट रामप्रसाद न्यौपाने, नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतको उम्मेदवारी परेको छ।
गत मंसिरको निर्वाचनमा लामिछाने ४९ हजार २ सय ६१ मत ल्याएर विजयी भएका थिए। कांग्रेसका उमेश श्रेष्ठको १४ हजार ९ सय ८३ मत आएको थियो भने तेस्रो स्थानमा रहेका एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ४७ मत पाएका थिए।
अवैध नागरिकताका आधारमा उम्मेदवारको मनोनयन दर्ता गराएर सांसद बनेको भन्दै सर्वोच्च अदालतले रविको सांसद पद खारेज गरिदिएपछि चितवन-२ मा पुनः चुनाव हुन लागेको हो। उनीमाथि राहदानी दुरुपयोग गरेको मुद्दा पनि लागेको छ। तर महान्यायाधिवक्ताको कार्यालयले उक्त मुद्दा अघि नबढाउने निर्णय गरेको थियो। उक्त मुद्दा अघि बढाउने आदेश माग गर्दै सिन्धुलीका युवराज सफलले सर्वोच्चमा रिट दायर गरेका छन्। उक्त रिटमाथि आजै प्रारम्भिक सुनुवाइ हुँदैछ।
मंसिरमा चितवन–२ मा १ लाख २४ हजार १४ मतदाता रहेकामा ८४ हजार ३ सय १५ मत खसेको थियो। यस पटक मतदाता संख्या १ लाख २४ हजार ६ सय ९५ पुगेको छ।
कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकासहित चितवन–२ मा भरतपुर महानगरपालिकाका २९ मध्ये १० वटा वडा यो क्षेत्रमा पर्छन्। ४३ मतदानस्थल र १ सय ३८ मतदान केन्द्र छन्।
बारा क्षेत्र नम्बर २ मा ३६ जनाको उम्मेदवारी परेको छ। १२ जनाले दलका तर्फबाट र २४ जनाले स्वतन्त्र रूपमा उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
मंसिर ४ गतेको निर्वाचनबाट चुनिएका सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि यहाँ उपनिर्वाचन हुन लागेको हो।
नेकपा (एमाले)बाट पुरुषोत्तम पौडेल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेललगायतको उमेदवारी परेको हो।
मंसिर ४ को निर्वाचनमा कुशवाह ३ सय ५४ मतको फरकले पराजित भएका थिए। कुशवाहले १३ हजार ४ सय ६८ मत पाउँदा एमालेको समर्थनमा उठेका रामसहाय १३ हजार ८ सय २२ मत ल्याई विजयी भएका थिए।
यो क्षेत्रमा यादव समुदायको बाहुल्य छ। त्यसपछि मुस्लिम र थारू छन्। पचपहुनिया जातिको मत आफूलाई आउने र त्यही निर्णायक बन्न सक्ने विश्वासमा कुसवाह छन्। यसैगरी चौथो स्थानमा कांग्रेसका बागी उम्मेदवार रोशन भनिने रवीन्द्र यादव थिए। उनले १० हजार ७ सय ५० मत ल्याएका थिए। एमालेले उनलाई भित्र्याएर चुनावी प्रतिस्पर्धामा उत्रने लक्ष्य बनाएको थियो तर रणनीति सफल भएन। यसपछि पार्टीले यहाँ उम्मेदवार बनाउने विषयमा आधिकारिक रूपमा निर्णय लिएको छैन।
बारा–२ मा १ लाख ५ हजार मतदातामध्ये पुरुष ५८ हजार ७ सय ४२ र महिला ४६ हजार २ सय ६९ छन्। मतदानस्थल ८२ र मतदान केन्द्र १ सय ३६ छन्। यस क्षेत्रमा पचारौता र महागढीमाई नगरपालिका र देवताल, सुवर्ण र करैयामाई गाउँपालिका पर्छन्।
