काठमाडौं- यती एयरले नयाँ लगानीकर्ताका रुपमा एसियन लाइफ इन्सोरेन्स भित्र्याएको छ । कम्पनीले एसियन लाइफ इन्सोरेन्स कम्पनीलाई नयाँ साझेदारको रुपमा भित्र्याएको हो। लगानीकर्ता भित्र्याएको यतीको सीईओसमेत परिवर्तन भएको छ। नयाँ सीईओमा सुवास सापकोट चयन भएका छन्। सापकोटा यसअघि एफवानसफ्टमा थिए।
लगानी तथा सेयरको विषयमा सहमति भए पनि इन्स्योरेन्सले कति प्रतिशत सेयर लिने र कति लगानी गर्ने भन्ने विषय भने गोप्य राखिएको छ। तर इन्सोरेन्स कम्पनीले बीमा प्राधिकरणबाट ४९ प्रतिशत सेयर खरिदका लागि सहमति लिएको थियो।
एसियन लाइफ इन्स्योरेन्सले प्रतिकित्ता प्रिमियमसहित १ सय ७० रूपैयाँमा यती एयरमा लगानी गर्ने गरी बीमा प्राधिकरणबाट सहमति लिएको हो। यती एयरको हालको चुक्ता पुँजी २ अर्ब १० करोड रूपैयाँ रहेको र त्यसको ४९ प्रतिशत सेयर खरिदका लागि एसियन लाइफ इन्स्योरेन्सले प्राधिकरणबाट सहमति लिएको हो।
प्राधिकरणले दिएको सहमतिअनुसार नै एसियन लाइफ इन्स्योरेन्सले ४९ प्रतिशत सेयर खरिद गर्दा १ अर्ब ७५ करोड रूपैयाँ लगानी गर्ने छ।
