काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहले यसपालिको विजयादशमीमा सर्वसाधारण तथा शुभेच्छुकलाई टीका लगाइदिने भएका छन्।
यसका लागि पूर्वराजा-रानीले विजयदशमीको दिन सर्वसाधारण र शुभेच्छुकलाई टीका लगाइदिने समय छुट्याएका छन्।
पूर्वराजा शाहका संवाद सचिव फणिराज पाठकका अनुसार यसपालिको विजयादशमीका दिन पूर्वराजा-रानीले अपराह्न ४ बजे टीका लगाइदिने समय तय गरेका छन्।
पछिल्लो समय कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण पूर्वराजा-रानीले टीकाको कार्यक्रम रद्द गरेका थिए।
कोरोनाका कारण गत साल पनि पूर्वराजा-रानीले आफ्ना शुभेच्छुक र सर्वसाधारणलाई टीका लगाइदिएका थिएनन्।
पूर्वराजा-रानीले मुलुकमा गणतन्त्र आएपछि आफ्ना शुभचिन्तक र सर्वसाधारणहरूलाई टीका लगाइदिने क्रम जारी राखेका छन्।
गणतन्त्र आउनुअघि राजा-रानीले नारायणहिटी दरबारमै सर्वसाधारण र शुभेच्छुकलाई टीका लगाइदिने गरिन्थ्यो।
पूर्वराजा-रानीको हातबाट टीका लगाउन निर्मल निवासमा ठूलो संख्यामा मानिसहरू जाने गर्छन्।
दसैंमा राष्ट्रपति तथा प्रधानमन्त्रीको हातबाट टीका थाप्ने चलन पनि छ।


