मध्यविन्दु (नवलपरासी)-नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिकामा सञ्चालित बालिका सम्मेलन १५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।
‘बालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ आयोजना गरिएको तेस्रो नवलपुर बालिका सम्मेलन-२०८० सम्पन्न भएको हो। बालविवाहको प्रभावकारी नियन्त्रण तथा रोकथामका लागि पहल गर्ने प्रतिबद्धतासहित १५ बुँदे घोषणापत्र जारी गरिएको नवलपुर किशोरी सञ्जालका अध्यक्ष विद्या ढुङ्गानाले बताइन्।
‘१५ बुँदे घोषणापत्रमा किशोरीहरूले आफ्ना मागलाई बुँदातरूपमा प्रस्तुत गरेका छन्,’ उनले भनिन्, ‘जसमा उनीहरूले आफूले पाउनुपर्ने हक, अधिकार र कर्तव्यका बारेमा समेत समावेश गरेका छन्।’
नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरसहित, चितवन, रुपन्देही र कपिलवस्तुका किशोरी एवं सरोकार भएका एकै स्थानमा बसी किशोरीका सवाल, राम्रा अभ्यास, सुझावको सङ्कलन र छलफल गरिएको अध्यक्ष ढुङ्गानाले बताइन्।
सम्मेलनमा किशोरी सशक्तीकरण अभियानमा लाग्न नपाएका भर्खर युवा अवस्थामा प्रवेश गरेका विभिन्न क्षेत्रका युवती र अभियानमा जोडिएर अभियानको सहजीकरणमा लागेका किशोरीबीच सामूहिक छलफल गरिएको जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले बताए।
‘छलफलमा समग्र किशोरीको समस्या, चुनौती, अवसर, सम्भावनाको चित्रण देखिएको थियो, उनीहरूले आफ्ना अनुभवसमेत राखेका थिए,’ उनले भनिन्।
बाल अधिकार र किशोरी अधिकारका सवालमा तीनै तहको सरकारको अपनत्व रहने गरी नीतिगत तहमा आफूले भूमिका खेल्ने गण्डकी प्रदेशसभा सदस्य पद्मा जिसी श्रेष्ठले बताइन्।
‘गण्डकी प्रदेशसभामा किशोरकिशोरीका विषयमा धेरै नीति नियम बनिसकेका भए पनि केही बाँकी रहेका छन्,’ उनले भनिन्, ‘बन्दै गरेका नीतिमा किशोरकिशोरीदेखि हरेक तप्काका नीति निर्माणमा भूमिका निर्वाह गर्नेछु।’
गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष एवं हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बालिकाको सवलीकरणका लागि स्थानीय सरकारले विशेष ध्यान दिने बताइन्।
‘बालिकाको शिक्षा, स्वास्थ्य र सुरक्षाका लागि स्थानीय सरकारले प्राथमिकता दिने छन्,’ उनले भनिन्, ‘यसका लागि गाउँपालिका महासङ्घमार्फत पैरवी गर्ने छौँ।’
डा गीतु गैरेले किशोरावस्थामा हुने शारीरिक, मानसिक, संवेगात्मक परिवर्तनका विषयमा खुलेर व्यक्त गर्न पनि नसक्ने र विद्यालयमा समेत ती विषय खासै नसिकाउँदा आफैँले जान्नुपर्ने परिस्थिति रहेको बताएकी थिइन्।
कावासोतीकी आशा विकले आफू किशोरी सशक्तीकरणको अभियानमै जोडिएका कारण पछाडि बसेर सुन्ने गरेकामा अहिले अगाडि बसेर सुनाउने बनेको अनुभव सुनाइन्।
‘बालबालिका र किशोरीको सवालमा गर्नुपर्ने सामाजिक विकासमा गरिने लगानीको प्रतिफल दीर्घकालीन हुनेमा कुनै सन्देह छैन,’ उनले भनिन्। कावासोतीबाट सहभागी मनीषा पौडेलले किशोरी सशक्तीकरणका अभियानले अहिलेका बालबालिकामा ऊर्जा थपेको बताइन्।
एक दिवसीय बालिका सम्मेलनमा नवलपुर, चितवन, रुपन्देही र कपिलवस्तुका किशोरी सञ्जालका पदाधिकारी एवं अभियानकर्मीसमेतको समुपस्थिति रहेको थियो।
सन् २०३० सम्ममा बालविवाहको अन्त्य गर्ने दिगो विकास लक्ष्य र अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्दै नेपालको बालिकालाई सक्षम बनाउने उद्देश्यमा योगदान गर्न सम्मेलन आयोजना गरिएको जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दीपक शर्माले बताए।
नवलपुर किशोरी सञ्जाल र जागृति बाल तथा युवा सरोकार नेपालले आयोजना गरेको सम्मेलनमा जिल्लाका आठ वटै स्थानीय तहसहित विभिन्न सरोकारवाला सङ्घ संस्थाले सहकार्य गरेका छन्।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा प्रथम बालिका सम्मेलन विसं २०७३ र दोस्रो बालिका सम्मेलन २०७४ मा आयोजना गरिएको थियो। यो सम्मेलनको तेस्रो संस्करण हो।
