काठमाडौँ- गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्व चयन गर्न बुधबार राति १२ बजेदेखि अनलाइन मतदान सुरु भएको छ। एनआरएनएमा मतदान गर्न पाउने ४ हजार २०० मतदाता छन्।
अध्यक्ष पदका लागि बद्री केसी, महेश श्रेष्ठ, आरके शर्मा प्रतिस्पर्धीमा छन्। नेपाली समयानुसार बिहीबार राति १२ बजेसम्म मतदान हुने छ।
यसैबीच संघकी वर्तमान अध्यक्ष रबिना थापाले अध्यक्ष पदका अर्का उम्मेदवार महेश श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन्।
बुधबार बेलुका एक प्रेस वक्तव्य जारी गर्दै थापाले संघलाई एकताबद्ध गर्न आफूले त्यस्तो निर्णय गरेको जनाइन्।
‘अध्यक्ष पदका उम्मेदवार महेश कुमार श्रेष्ठले आफू निर्वाचित भएको ३ महिनाभित्रै संघलाई एकताबद्ध गर्ने स्पष्ट कार्ययोजना अगाडि सार्नुभएकोले म त्यसको स्वागत र समर्थन गर्दछु,’ रविनाको वक्तव्यमा उल्लेख छ, ‘संघभित्र एकता पक्षधर बलियो बन्नु भनेको संघलाई नै बलियो बनाउनु हो। त्यसैले मैले अध्यक्ष पदका उम्मेदवार श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी स्थगित गर्ने निर्णय गरेको जानकारी गराउन चाहन्छु।’
२०२१-२३ कार्यकालका लागि सहमतिको आधारमा अध्यक्षमा चयन भएकी थापाले निर्वाचित अध्यक्ष भएर दोश्रो कार्यकाल पनि चलाउने बताउँदै उम्मेदवारी दिएकी थिइन्। महेश कुमार श्रेष्ठ र उनको टिमसंग सघन वार्तापछि उनले उम्मेदवारी फिर्ता लिने घोषणा गरेकी हुन्।
