काठमाडौँ- जावलाखेल युथ क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मंगलबार जित निकालेको छ। सातदोबाटोको एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा सातदोबाटो युथ क्लबलाई २-१ ले हराउँदै जावलाखेल शीर्ष स्थानमा समेत उक्लिएको छ।
जावलाखेललाई जित दिलाउनका लागि फोडे फोफाना र एनकोटो मोसाबीले एक एक गोल गरेका थिए। यता सातदोबाटोका दीपक राज सिंह ठकुरीले एक गोल फर्काएका थिए।
आजै च्यासल रंगशालामा भएको खेलमा भने न्युरोड टिम एनआरटी र चर्च ब्वाइज युनाईटेडले २२ को बराबरी खेल्दै अंक बाडेका छन्। चर्च ब्वाइजले दुई गोलको अग्रता जोगाउन नसकेपछि खेल बराबरीमा भएको हो। २० औं मिनेटमा आशिष चौधरीले र ६२ औं मिनेटमा कप्तान अनन्त तामाङले गोल गर्दै चर्च ब्वाइजलाई २-० को अग्रता बनाएको थियो।
तर, ७१ औं मिनेटमा रोहन खड्की र इन्जुरी समयमा सरोज तामाङले गोल गर्दै एनआरटीलाई २-२ गोलको बराबरीमा ल्याएका थिए। आजका दुवै खेल सकिएपछि एनआरटी ६ खेलबाट ३ अंकका १३औं स्थानमा छ भने चर्च ब्वाइजले ६ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा छ।
त्यस्तै आजको जितसँगै जावलाखेलले ६ खेलमा १३ अंक जोडेको छ भने यसअघि शीर्षस्थानमा रहेको सातदोबाटो ६ खेलमा १२ अंक जोडेर तेस्रो स्थानमा पुगेको छ।


