काठमाडौं– टि२०आई त्रिकोणात्मक सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ। बुधबार यूएईलाई पराजित गरेको नेपालले दोस्रो खेलमा हङकङलाई ६ विकेटले पराजित गरेको हो।
हङकङले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाउँदै भेट्टाएको थियो। कप्तान रोहित पौडेल २० बलमा १ चौका र २ छक्कासहित २५ रन जोडेर अभिजित रहे।
ओपनर आसिफ शेखले ३४ बलमा ६ चौकासहित सर्वाधिक ४२ रन बनाए। कुशल भुर्तेल ८ रन बनाएर आउट भएका थिए। कुशल मल्लले केवल १ रन मात्रै जोड्न सके। जोराले ३ रन जोडे। गुलशन झा ५ बलमा २ छक्कासहित १४ रनमा नट आउट रहे ।
हङकङका लागि एहसान खानले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिए। यासिम मुर्तजाले ४ ओभरमा ३६ रन खर्चेर १ विकेट लिए।
मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङ १९.३ ओभरमा ९४ रनमा अलआउट भएको थियो। नेपालका लागि करण केसीले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए। उनलाई अभिनाश बोहोराले २ तथा सोमपाल कामी, कुशल मल्ल र श्याम ढकालले १-१ विकेट लिए।


