काठमाडौँ– डिजिटल वालेट ई- सेवाले क्यूआर कोडमार्फत भुक्तानी गर्दा बोलेर जानकारी दिने डिभाइस ‘ई–स्पिकर’ ल्याएको छ।
बुधबार आयोजित कार्यक्रममा कम्पनीले ‘ई- स्पिकर’ सार्वजनिक गरेको हो।
व्यावसायिक तथा व्यक्तिगत प्रयोजनका लागि क्यूआर प्रणाली प्रयोग गर्ने प्रयोगकर्ताको समस्यालाई ध्यानमा राख्दै ई-स्पिकर ल्याएको कम्पनीले बताएको छ।
‘क्यूआरमार्फत भुक्तानी गर्दा एसएमएस ढिलो आउँदा भुक्तानी पुष्टि गर्न व्यवसायी र ग्राहक दुवैलाई समस्या भइरहेको हुन्छ’, कम्पनीले भनेको छ, ‘ई-स्पिकरले भने क्यूआरमार्फत भुक्तानी हुनासाथ डिभाइसमा अडियो नोटिफिकेसन पठाउँछ र डिभाइसले भुक्तानी सफल भएको जानकारी दिन्छ।’
यसपछि ग्राहकले भुक्तानी भइसकेको स्क्रिनसट व्यवसायीलाई देखाउन पर्ने झन्झट कम हुने कम्पनीको विश्वास छ। ई-सेवाका सबै मर्चेन्टले ई-स्पिकर प्रि-अर्डर गर्न सक्नेछन्।
कात्तिक १ गतेदेखि नै बुकिङ सुरु भएको भन्दै कम्पनीले बुकिङ गर्ने प्रयोगकर्तालाई यो डिभाइस मंसिर ४ गतेदेखि नेपालभर उपलब्ध गराउने बताएको छ।
दसैँको अवसरमा कम्पनीले यो डिभाइस ३ हजार ६०० रुपैयाँमा उपलब्ध हुने बताइएको छ।
उक्त अवधि सकिएपछि भने ई-स्पिकर खरिद गर्ने प्रयोगकर्ताले ४ हजार रुपैयाँ तिर्नुपर्ने पनि कम्पनीले बताएको छ। यो डिभाइस नेपाली स्टार्टअप कम्पनी यार्सा टेकले विकास गरेको हो।


