काठमाडौं – नेपाल त्रिकोणात्मक टि-२० आई सिरिजको फाइनलमा प्रवेश गरेको छ।
मुलपानी क्रिकेट मैदानमा शनिबार भएको तेस्रो खेलमा हङकङलाई ७९ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो।
त्रिकोणात्मक सिरिजमा नेपालको यो लगातार तेस्रो जित हो।
टस जितेर ब्याटिङ रोजेको नेपालले कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको आक्रामक अर्धशतकमा नेपालले २१४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। नेपालले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दा हङकङले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३४ रन मात्र जोड्न सकेको थियो।
हङकङका लागि अंशुमन रथले सर्वाधिक ४५ रनको योगदान दिएका थिए। बाबर हायात २० र एजाज खानले २५ रन जोड्नुबाहेक अन्य खेलाडीले खासै ठूलो स्कोर बनाउन सकेनन्।
नेपालले यसअघि पहिलो खेलमा यूएईलाई ७ विकेटले हराएको थियो। दोस्रो खेलमा नेपालले हङकङलाई नै ६ विकेटले पराजित गरेको थियो। यस जितसँगै नेपाल ६ अंक जोड्दै शीर्षस्थानमा रहेर फाइनल पुगेको हो। अन्य टोलीले अंक जोडेका छैनन्।
अब नेपालले आफ्नो अन्तिम खेल सोमबार यूएईसँग खेल्नेछ। अब यूएई र हङकङले आइतबार र बुधबार एक आपसमा खेल्नेछन्। फाइनल शुक्रबार हुनेछ।


