रौतहट – रौतहटमा घाँस काट्न जंगल गएकी एक महिलाको हात्ती आक्रमणबाट मृत्यु भएको छ।
रौतहट प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दामोदर केसीका अनुसार मृत्यु हुनेमा चन्द्रपुर नगरपालिका-५ राजपेडकी मनिया देवी कुमर रहेकी छिन्।
घाँस काट्न सोही ठाउँको जंगलमा गएका तीन महिलामध्ये कुमरको शव मृत अवस्थामा फेला परेको केसीले बताए।
उनका अनुसार शनिबार दिउँसो २ बजे कुमर, अधनया देवी र पनावती कुमारी चौधरी घाँस काट्न त्यहीको जंगलमा गएका थिए।
अधनया र पनावती कुमारी घाइते अवस्थामा भेटिएका छन्। नेपाली सेना, प्रहरी र डिभिजन वन कार्यालयले खोजी गर्ने क्रममा कुमरलाई मृत र अन्य दुई महिलालाई घाइते अवस्थामा फेला पारेको हो।
घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।


