काठमाडौं- नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको छ। सोमबार मुलपानी क्रकेट स्टेडियममा भएको त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गत भएको खेलमा नेपालले यूएईलाई पराजित गरेको हो। नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले १६५ रनको लक्ष्य दिएको थियो। यूएईले दिएको लक्ष्य नेपालले पाँच विकेटको क्षतिमा १९.२ ओभरमा भेटाएको हो।
नेपालका लागि आशिफ शेखले २ छक्का र ६ चौका मद्दतमा ६२ रन जोडे। कप्तान रोहित पौडेल ४७ रन बनाएर आउट हुँदा दीपेन्द्रसिंह ऐरीले ४० रन बनाएर अविजित रहे। कुशल भुर्तेल एक, सोमपाल कामी दुई र कुशल मल्ल शून्य रनमै आउट भएका थिए। यूएईका मोहम्मद जवादुल्लाहले २, अकिफ राजा र जहूर खानले एक/एक विकेट लिए। पहिले ब्याटिङ गरेको यूएईले ७ विकेट गुमाएर १६४ रन बनाएको थियो।
यूएईका लागि वृत्य अरविन्द र बासिल हमीदले सर्वाधिक समान ४५/४५ रन बनाउँदा आसिफ खानले १८ रन जोडेका थिए। यस्तै खालिद शाहले १२, अलिशान शराफुले ९, अल नासिरले ९ र मोहम्मद वासिम ८ रन बनाएका थिए। निलान्स केश्वानी ८ र अकिफ राजा ५ रन बनाएर अविजित रहे। नेपालका सोमपाल कामी र अविनाश बोहोराले समान २-२ विकेट लिँदा करण केसी र गुल्शन झाले एक-एक विकेट लिएका थिए।


