मुगु – दसैंको टीका थापेर फर्किएका चार जनाको घरमै हत्या भएको छ।
प्रहरीका अनुसार छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक छोरीको हत्या गरेको अवस्थामा शव फेला परेको हो।
छायानाथ रारा –६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहरा, ११ वर्षीय छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहर बोहराको हत्या गरेको अवस्थामा शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट दक्षिण पूर्वमा छ।
चारै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुमा ल्याइएको थापाले जानकारी दिए।
श्रीदेवीका श्रीमान् वैदेशिक रोजगारीमा छन्। कसले के उद्देश्यले हत्या गर्यो भन्नेबारे नखुलेको थापाले बताए।
‘घटनाबारे अहिले अनुसन्धान भइरहेको छ, शव परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याइएको छ,’ उनले भने।
प्रारम्भिक अनुसन्धान अनुसार श्रीदेवी छोराछोरीसहित यही कात्तिक ७ गते बिहान दसैंको टीका थाप्न सोही वडास्थित कोटिल्ला माइती गाउँ गएकी थिइन्।
कात्तिक ८ गते बेलुका घर फर्केका उनीहरूको त्यसै दिन राति हत्या भएको आशंका गरिएको थापाले बताए।
छिमेकीहरूले कात्तिक ९ गते बिहानदेखि श्रीदेवीको घरमा ताला लगाएको देखेका थिए।
उनीहरूले बिहानै खेत गएका होलान् भन्ने अनुमान गरेका थिए। तर, १० गते बिहान पनि घरमा ताला लगाएको देखेपछि छिमेकीहरूले आशंका गरे।
‘फेरि श्रीदेवी माइती गएको आशंकामा माइतीमा फोन गर्दा ८ गते नै फर्किएको भनेपछि छिमेकीले आज बिहान १० बजेतिर ढोकाको ताला फाडेर भित्र हेर्दा चारै जनाको हत्या भएको देखेका थिए,’ थापाले भने।
यसपछि प्रहरीलाई खबर आएको थियो। खबर पाएपछि प्रहरीले घटनास्थल पुगेर अनुसन्धान सुरू गरेको हो।


