महोत्तरी- महोत्तरीका एक युवकको हत्या आरोपमा प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला मधुबनी जयनगर घर भएका १९ वर्षीय दिपक मलिक र साहरघाट बसबरिया घर भएका १८ वर्षीय अमित मलिक छन्।
बिहीबार बेलुका करिब ४ बजेको समयमा पिपरा गाउँपालिका-५ हर्दिया टोल बस्ने १९ वर्षीय आशिक पासवानको खेतमा शव फेला परेको थियो। चक्कु प्रहार गरी हत्या गरेको अवस्थामा युवकको शव फेला परेको थियो।
शव फेला परेपछि घटनामा संलग्न रहेको आरोपमा पिपरा-५ स्थित आफ्नै मामाको घरमा बस्दै आएका दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
सोधपुछ तथा अनुसन्धान गर्दा उक्त घटनामा उनीहरूको संलग्न रहेको खुल्न आएको प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए।
यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।


