काठमाडौँ- मधेश प्रदेशका लक्ष्मण राईले वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा मंगलबार विजयी सुरुआत गरेका छन्। गणेशमानसिंह फाउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह खेलकुद समितिद्वारा आयोजित प्रतियोगिताको पुरुष ५१ केजीमा लक्ष्मणले नेपाल प्रहरी क्लबका चन्द्रबहादुर थापालाई पराजित गरेका हुन्।
सोही स्पर्धामा बागमती प्रदेशका रविन थापाले लुम्बिनी प्रदेशका भरत पुन मगर, नेपाल एपीएफ क्लबका आश तामाङले सुदूरपश्चिम प्रदेशका चिरन्जिवी खड्का तथा कोशी प्रदेशका फुङलाङ काम्वाङले गण्डकी प्रदेशका रुकी गुरुङलाई हराए।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगिताको पुरुष ६३ केजीमा कोशीका बलबहादुर पुनले लुम्बिनीका नेत्रबहादुर थापालाई पाखा लगाए। पुरुष ६१ केजीमा मधेशका शशि शाक्यले कर्णाली प्रदेशका देवेन्द्र थापालाई पन्छाए।
प्रतियोगिताको पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए। सो अवसरमा भारतको नयाँदिल्लीमा भएको आइबा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा दुई ‘बाउट’ जितेर इतिहास रचेकी अन्जनी तेलीलाई सम्मान गरिएको थियो।
प्रतियोगितामा सात प्रदेश, प्रहरी र एपीएफबाट १ सय ८ खेलाडी सहभागी छन्।/पुरुष र महिलामा समान ६–६ स्पर्धामा समावेश छन्।
हरेक स्पर्धाका विजेताले २५ हजार, दोश्रोले १५ हजार र तेश्रोले ७ हजार ५ सय नगद पुरस्कार पाउने छन्। उत्कृष्ट पुरुष/महिला खेलाडीलाई पनि आकर्षक नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।


