काठमाडौं- आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेल सोमबार नेपाल र सिंगापुरबीच हुँदैछ। सन् २०२४ मा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताका लागि एसियाली क्षेत्रका ८ राष्ट्रबीचको खेल सोमबारदेखि नेपालमा हुन लागेको हो।
छनोट प्रतियोगिताको पहिलो दिन चार खेल हुनेछन्। कीर्तिपुर मैदानमा हुने नेपाल र सिंगापुरबीचको खेल नेपाली समय अनुसार, बिहान ९ बजे सुरु हुनेछ। सोही समयमा मुलपानी क्रिकेट मैदानमा बहराइन र यूएईबीच दोस्रो अर्को खेल हुनेछ।
यस्तै सोमबार नै कीर्तिपुर मैदानमा मलेसिया र ओमानबीच तेस्रो खेल हुनेछ। त्यो खेल नेपाली समयअनुसार, दिउँसो सवा १ बजे सुरु हुनेछ। सोही समयमा मुलपानी क्रिकेट मैदानमा हङकङ र कुवेतबिच चौथो खेल खेलाइनेछ।
आगामी टी–२० विश्वकपका लागि एसियाली क्षेत्रको यो अन्तिम छनोट प्रतियोगिता हो। यो प्रतियोगिताबाट दुई वटा राष्ट्र आगामी टी–२० विश्वकपमा छनोट हुनेछन्। आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रूपमा आयोजना हुँदैछ।
एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा आयोजना नेपालसहित संयुक्त अरब इमिरेट्स (यूएई), हङकङ, ओमान, बहराइन, कुवेत, मलेसिया र सिंगापुरको सहभागिता रहनेछ।
प्रारम्भिक चरणमा आफ्नो समूहमा रहेका चार वटै टोलीले एकअर्कासँग एक–एक खेल खेल्ने छन्। त्यसपछि दुवै समूहबाट तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको सेमिफाइनल चरणमा प्रवेश गर्नेछन् ।


