काठमाडौँ- आईसीसी टी २० विश्वकप छनोट अन्तर्गतको खेलमा नेपालले सिंगापुरविरुद्ध जित निकालेको छ।
सोमबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ८ विकेटले नेपालले विजय हासिल गरेको हो।
सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले विकेटकै क्षतिमा भेट्टाउन सफल भयो।
खेलमा नेपालका कुशल भुर्तेलले अर्धशतकको योगदान गरे। उनले ७४ रन जोडे। जम्मा १६.३ ओभरमै नेपालले पाएको लक्ष्य भेट्टाएको हो।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो।
सन् २०२४ मा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताका लागि एसियाली क्षेत्रका ८ राष्ट्रबीचको खेल सोमबारदेखि नेपालमा सुरु भएको हो।
छनोट प्रतियोगिताको पहिलो दिन आज चार खेल हुनेछन्।
मूलपानी क्रिकेट मैदानमा बहराइन र यूएईबीच दोस्रो अर्को खेल जारी छ। यो खेलमा बहराइनले युएईलाई १३५ रनको लक्ष्य दिएको छ।
यस्तै सोमबार नै कीर्तिपुर मैदानमा मलेसिया र ओमानबीच तेस्रो खेल हुनेछ। यो खेल नेपाली समयअनुसार, दिउँसो सवा १ बजे सुरु हुनेछ। सोही समयमा मुलपानी क्रिकेट मैदानमा हङकङ र कुवेतबिच चौथो खेल खेलाइनेछ।
आगामी टी–२० विश्वकपका लागि एसियाली क्षेत्रको यो अन्तिम छनोट प्रतियोगिता हो। यो प्रतियोगिताबाट दुई वटा राष्ट्र आगामी टी–२० विश्वकपमा छनोट हुनेछन्। आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रूपमा आयोजना हुँदैछ।
एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा आयोजना नेपालसहित संयुक्त अरब इमिरेट्स (यूएई), हङकङ, ओमान, बहराइन, कुवेत, मलेसिया र सिंगापुरको सहभागिता रहनेछ।
प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। प्रतियोगिताको समूह ‘ए’ मा आयोजक राष्ट्र नेपाल, मलेसिया, ओमान र सिंगापुर रहेका छन्। समूह ‘बी’ मा भने बहराइन, हङकङ, कुवेत र यूएई छन्।
प्रारम्भिक चरणमा आफ्नो समूहमा रहेका चार वटै टोलीले एकअर्कासँग एक–एक खेल खेल्ने छन्। त्यसपछि दुवै समूहबाट तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको सेमिफाइनल चरणमा प्रवेश गर्नेछन् ।
