कास्की- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण बेस क्याम्प (एबीसी) पुगेका छन्।
जलवायु परिवर्तनको असरबारे प्रत्यक्ष अनुभव गर्न र स्थानीयसँग कुरा गर्नका लागि उनी एबीसी गएका हुन्।
उनको स्वागतका लागि एबीसीमा छुट्टै हेलिप्याड बनाइएको थियो भने स्थानीय झाँकीसहित स्वागत गरिएको छ।
गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसी सहितको टोलीले गुटेरेसलाई स्वागत गरेका थिए।
जलवायु परिवर्तनबाट प्रभावित क्षेत्रलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, विकास र समृद्धिमा साथ सहयोग गर्नुपर्ने र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्नेसम्बन्धी विषयमा ध्यानाकर्षण समेत गराएका थिए।
वडाध्यक्ष हिम गुरुङले सानोमा खर्कमा पशु चराउन जाँदाको अनुभव सुनाएका थिए। उनले अहिले धेरै परिवर्तन आएको पनि सुनाएका थिए।
महासचिव गुटरेसले जलवायु परिवर्तनमा नेपाल जस्तो राष्ट्रहरुको कुनै दोष नरहेको उल्लेख गर्दै यसको लागि मुख्य जिम्मेवार ठूला शक्तिराष्ट्र भएको बताएका थिए।
जलवायु परिवर्तनको असरले नेपाल जस्तो देशले भोग्नुपरेको समस्या अन्तर्राष्ट्रिय फोरममा राख्ने र साथै यस क्षेत्रको विकास र समृद्धिको लागि आफ्नो ठाउँबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका थिए।







