काठमाडौँ- आईसीसी टी-२० विश्वकप एसिया छनोटमा अन्तर्गत मलेसियाले नेपाललाई १६६ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ९ विकेटको क्षतिमा १६५ रन जोडेर १६६ रनको लक्ष्य दिएको हो।
अभिनास बोहराले ४ विकेट लिए। अविनाशले ५.५ ओभरमा जुबाइदी जुल्कीफलीलाई आउट गराए। यस्तै १७.२ ओभरमा मोहम्मद अमीर, १९.२ ओभरमा स्याजरुल इद्रुस र १९.६ ओभरमा फित्री सामलाई आउट गराएका हुन्।
अभिनासले ४ ओभर खेल्दा २७ रन मात्र खर्चिएका थिए।
यस्तै सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले १-१ विकेट लिए।
अहिले नेपालले मलेसियाले दिएको लक्ष्य पछ्याइरहेको छ।
समूह ‘ए’ मा रहेको नेपालले यसअघि सोमबार भएको पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो।
आजको खेल जिते नेपाल सेमिफाइनल पुग्नेछ। नेपालसँगै ओमान पनि समूहबाट अन्तिम चारमा पुग्नेछ।
समूह चरणको आफ्नो अन्तिम खेल नेपालले ओमानसँग पर्सी खेल्नेछ।
प्रतियोगिताको फाइनल पुग्ने दुई टिमले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-२० विश्वकप खेल्नेछन्।


