काठमाडौं- नेपालको चारदिने औपचारिक भ्रमण सकेर संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस अमेरिक फर्किएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार बिहान अमेरिकाको न्युयोर्कका लागि उनी प्रस्थान गरेका हुन्।
कतार एयरवेजको उडानमार्फत् उनी न्युयोर्क फर्किएको परराष्ट्र मन्त्रालयले जानकारी दिएकाे छ।
उनकाे बिदाइका लागि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का पुगेका थिए।
महासचिव गुटेरेसले मंगलबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरेका थिए।
नेपालमा रहँदा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाल)का अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ र परराष्ट्र मन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गरेका थिए।
उनले सगरमाथा क्षेत्र, अन्नपूर्ण क्षेत्र, पोखरा, लुम्बिनी लगायतका स्थानको भ्रमण पनि गरेका थिए।





