भरतपुर- आममाफी पाएका रामचन्द्र थापा पुनः ज्यान मार्ने धम्की दिँदै रु २५ लाख माग गरेको आरोपमा पक्राउ परेका छन् । कात्तिक ८ गते भरतपुर महानगरपालिका–१ बस्ने सोमराज सुवेदीलाई फोन गरी अपहरणको धम्की दिने ५५ वर्षको थापालाई प्रहरीले भरतपुरको मालपोत चोकबाट रकम माग गर्दै गरेको अवस्थामा सोमबार पक्राउ गरेको हो । उनले गत जेठ १५ गतेको गणतन्त्र दिवसमा आममाफी पाएका थिए ।
पत्रकार सम्मेलन गरेर पक्राउ परेको थापालाई सार्वजनिक गर्दै चितवन प्रहरीले बारम्बार अपरिचित मोबाइल नम्बरबाट फोन गरी उनले अपहरणको धम्की दिएको जानकारी दिएको छ ।
थापाले हिन्दी भाषा प्रयोग गरी सुवेदी र उनको छोरालाई गोली हानी हत्या गर्छु भन्दै सो को बदलामा रु २५ लाख माग गरेको चितवन प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक उमाशङ्करप्रसाद साहको नेतृत्वमा विशेष प्रहरी टोली परिचालित भई सोमबार साँझ अभियुक्त थापालाई पक्राउ गरिएको जनाइएको छ ।


