काठमाडौँ- राष्ट्रपतिबाट संविधान दिवसमा कैद सजाय मिनाहा पाएका योगराज (रिगल) ढकालको मुद्दामा सर्वोच्च अदालतले बिहीबार निर्णय सुनाउने भएको छ।
कामू प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरु सपना प्रधान मल्ल र डा कुमार चुडालको इजलासले बिहीबार निर्णय सुनाउने सर्वोच्च अदालतका सहायक प्रवक्ता गोविन्द घिमिरेले बताए।
आफ्ना पति चेतन मानन्धरको जघन्य हत्या गर्नेलाई कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद र मन्त्रिपरिषदको सिफारिस अनुसार कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णय खारेजीको माग गर्दै भारतीले रिगलविरुद्ध सर्वोच्च अदालतमा रिट दिएकी थिइन्।
मंगलबार महान्यायाधिवक्ता डा दिनमणि पोखरेल, नायब महान्यायाधिवक्ता विश्वराज कोइराला र नायब महान्यायाधिवक्ता सञ्जिवराज रेग्मीले सरकारका तर्फबाट बहस गरेका थिए। सुनुवाइ नसकिएकाले बुधबार बहस भएको थियो।
असोज १८ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले रिगललाई आममाफी दिन सिफारिस गर्नुपर्नेको कारणसहितको सम्पूर्ण सक्कल मिसिल गत असोज २४ गतेभित्र झिकाउन आदेश गरेको थियो।
साथै, अदालतले कानुनी प्रश्नको जटिलता र महत्वको विचार गर्दा पूर्ण इजलासमा पेश गर्नका लागि उपयुक्त देखिएकाले अर्को सुनुवाइका लागि पूर्ण इजलासमा पेशी व्यवस्थापन गर्नसमेत आदेश दिएको थियो।


