काठमाडौँ- टी-२० विश्वकप एसिया छनोटअन्तर्गत जारी खेलमा नेपालले ओमानका चार विकेट लिएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपालले टस जितेर पहिले बलिङ गर्दा ओमानका चार खेलाडीलाई आउट गराएको हो।
नेपालले ओमानविरूद्ध पहिलो ओभरमै विकेट लियो।
ओमानका ओपनर कश्यप प्रजापतिलाई करण केसीले पहिलो ओभरको पाँचौ बलमा विकेट पछाडि विकेटकिपर आसिफ शेखबाट ८ रनको व्यक्तिगत स्कोरमा आउट गरे।
सोमपाल कामीले ओमानका अबिक इल्यास र सोयब खानलाई आउट गराए। गुल्सन झाले पाँचौ ओभरको अन्तिम बलमा प्रतिक अथाभलेलाई आउट गराएका हुन्।
ओमनले ७.५ ओभर ब्याटिङ गर्दा ४ विकेट गुमाएर ५१ रन जोड्न सफल भएको छ।
विश्वकप टी-२० एसिया छनोटकै खेलमा यसअघि नै नेपालले सिंगापुर र मलेसियालाई पराजित गरेको छ।
समूह ‘ए’ मा लगातार दुई खेल जितेर सेमिफाइनल पुगिसकेका नेपाल र ओमानबीचको आजको खेलले समूह विजेताको बन्ने भन्ने निर्धारण गर्नेछ।
पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो। यस्तै ओमानले मलेसियालाई ३२ रन र सिंगापुरलाई २२ रनले पराजित गरेको थियो।
यी दुई खेलसहित बिहीबार समूह चरणका बाँकी चार वटै खेल हुनेछ र त्यसपछि सेमिफाइनल पुग्ने बाँकी दुई टिम र सेमिफाइनल समीकरण पनि टुङ्गो लाग्नेछ ।
समूह ‘बी’ अन्तर्गत यूएई र हङकङबीचको खेल पनि आजै मुलपानी क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ। कुवेत र बहराइनबीच दिउँसो सवा १ बजे मुलपानी मैदानमै अर्को खेल हुनेछ।


