जाजरकोट- भूकम्पमा परी नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ। जाजरकोटमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु भएको हो।
सदरमुकाम खलंगामा सिंह बसेको घर भत्किँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष रोकाले जानकारी दिए।
‘उद्धार गरेर अस्पताल पठाउँदै गर्दा बाटोमा नै उहाँको मृत्यु भएको हो,’ रोकाले भने।
सिंह गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट उपप्रमुख पदमा निर्वाचित भएकी थिइन्।
भूकम्पको क्षतिको विवरण प्राप्त हुने क्रम जारी छ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रभावित क्षेत्रको भ्रमणमा जाने भएका छन्।


